विदेश अध्ययनका लागि तोकिएको रकमभन्दा ५ प्रतिशत बढी विदेशी मुद्रा पठाउन पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक अध्ययनका लागि आवश्यक विदेशी मुद्रा सटही सम्बन्धी व्यवस्थामा थप सहजीकरण गरेको छ। अब विदेशमा अध्ययन गर्न जाने वा अध्ययनरत विद्यार्थीका लागि आवश्यक पर्ने बैंक ब्यालेन्समा तोकिएको रकमभन्दा अधिकतम ५ प्रतिशतसम्म बढी विदेशी मुद्रा पठाउन सकिने भएको छ।
राष्ट्र बैंकले विदेशी विनिमय सम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै भारतबाहेक अन्य मुलुकमा अध्ययनका लागि उपलब्ध गराइने सटही सुविधालाई थप लचिलो बनाएको हो।
नयाँ व्यवस्था अनुसार सम्बन्धित देशको दूतावास वा सरकारी निकायले विद्यार्थीको भिसा प्राप्ति, नवीकरण वा निर्वाह खर्चका लागि खातामा निश्चित रकम देखाउनुपर्ने शर्त राखेमा विद्यार्थीको नाममा आवश्यक रकमभन्दा ५ प्रतिशतसम्म बढी विदेशी मुद्रा राख्न सकिनेछ।
त्यस्तै, राष्ट्र बैंकले परिवर्त्य विदेशी मुद्राको सूचीमा नपर्ने स्थानीय मुद्रामा निश्चित रकम देखाउनुपर्ने प्रावधान भएमा त्यसको पुष्टि गर्ने कागजातका आधारमा आवश्यक सटही सुविधा उपलब्ध गराउने व्यवस्था पनि गरेको छ।
विनिमय दरमा हुने उतारचढावका कारण अतिरिक्त खर्चको यकिन गर्न कठिन हुने अवस्थालाई मध्यनजर गर्दै पठाउनुपर्ने रकमको अधिकतम ५ प्रतिशतसम्म थप गरी अमेरिकी डलर वा अन्य परिवर्त्य विदेशी मुद्रा पठाउन सकिने प्रावधान राखिएको राष्ट्र बैंकले जनाएको छ।
हाल विद्यार्थीहरूले निर्वाह खर्चका लागि २ हजार ५०० देखि ५ हजार अमेरिकी डलरसम्म सटही सुविधा प्राप्त गर्दै आएका छन्। यस्तो रकम नेपालस्थित अभिभावकले अध्ययनरत विद्यार्थीलाई पठाउन सक्ने व्यवस्था छ। साथै, अन्य शैक्षिक शुल्कका हकमा आवश्यक कागजातको आधारमा अनुमति प्रदान गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
यसैबीच, एकीकृत परिपत्र–२०८२ अनुसार पेश गरिने कागजात सक्कल हुनुपर्ने व्यवस्था रहे पनि अब विद्युतीय कारोबार ऐन, २०६३ तथा सो अन्तर्गत बनेका नियमअनुसार डिजिटल हस्ताक्षरबाट प्रमाणित गरिएका कागजातलाई समेत मान्यता दिइने भएको छ।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया