१० महिनामा वाणिज्य बैंकले कमाए साढे ५६ अर्ब नाफा, कुन बैंकको नाफा कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२।०८३ को १० महिनामा वाणिज्य बैंकले झण्डै साढे ५६ अर्ब मुनाफा आर्जन गर्ने सफल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको तथ्याङ्क अनुसार २० वाणिज्य बैंकहरुले ५६ अर्ब ४७ करोड ५० लाख ३ हजार रुपैयाँ नाफा कमाएका हुन् ।
बैंकहरुले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा १८.१६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।
समीक्षा अवधिमा सबैभन्दा बढी नाफा वृद्धि कुमारी बैंकको भएको छ । बैंकको खुद नाफा ८३३ प्रतिशतले बढेर ४ अर्ब ४९ करोड ६९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४८ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा १३ वटा बैंकको नाफा बढेको छ भने ७ वटा बैंकको नाफा घटेको छ । नबिल बैंक भने सबैभन्दा बढी नाफा कमाउने बैंक बनेको छ । बैंकले ७ अर्ब ६६ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको तुलनामा ७.६० प्रतिशत बढी हो । गत वर्षको वैशाखमा बैंकले ५ अर्ब ६० करोड ३९ लाख रुपैयाँ नाफा गरेको थियो ।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ८१.६३ प्रतिशत बढेर ३ अर्ब २१ करोड ५७ लाख रुपैयाँ, सानिमा बैंकको ४३.६५ प्रतिशत बढेर २ अर्ब ६८ करोड ७१ लाख रुपैयाँ, माछापुच्छ«े बैंकको ४३.२१ प्रतिशत बढेर १ अर्ब ८८ करोड ११ लाख रुपैयाँ, प्राइम बैंकको ३१.७३ प्रतिशत बढेर ३ अर्ब ४० करोड ६१ लाख रुपैयाँ, सिटिजन्स बैंकको २६.८७ प्रतिशत बढेर १ अर्ब ४९ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
यस्तै, नेपाल एसबिआई बैंकको २१.५९ प्रतिशत बढेर १ अर्ब ६८ करोड ५ लाख रुपैयाँ, एनएमबि बैंकको १९.९२ प्रतिशत बढेर ३ अर्ब १४ करोड ८७ लाख रुपैयाँ, सिद्धार्थ बैंकको १८.७८ प्रतिशत बढेर २ अर्ब ३८ करोड ८९ लाख रुपैयाँ, हिमालयन बैंकको १७.४७ प्रतिशत बढेर ८० करोड २८ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १४.१४ प्रतिशत बढेर २ अर्ब ४६ करोड १६ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ०.४१ प्रतिशत बढेर २ अर्ब ३५ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् ।
तर, समीक्षा अवधिमा प्रभु बैंकको नाफा सबैभन्दा धेरै घटेको छ । बैंकको ४१.७० प्रतिशत घटेर १ अर्ब १६ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
यस्तै, एनआईसी एशिया बैंकको ३०.४४ प्रतिशत घटेर ३३ करोड २९ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को २४.२५ प्रतिशत घटेर ३ अर्ब ८० करोड ३२ लाख रुपैयाँ, नेपाल बैंकको ९.१४ प्रतिशत घटेर २ अर्ब ९८ करोड ८० लाख रुपैयाँ, कृषि विकास बैंकको ७.८९ प्रतिशत घटेर १ अर्ब ५९ करोड ६९ लाख रुपैयाँ, एभरेष्ट बैंकको ५.१७ प्रतिशत घटेर ३ अर्ब ७० करोड १२ लाख रुपैयाँ र ग्लोबल आइएमई बैंकको ३.०६ प्रतिशत घटेर ५ अर्ब १९ करोड १० लाख रुपैयाँमा झरेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।
कुन बैंकको कति ?
| बैंकहरु | २०८३ वैशाखसम्मको नाफा (दशलाखमा) | २०८२ वैशाखसम्मको नाफा (दशलाखमा) | नाफा फरक (प्रतिशतमा) |
| नेपाल | २,९८८.०९ | ३,२८८.७७ | -९.१४ |
| राष्ट्रिय वाणिज्य | ३,२१५.७३ | १,७७०.४३ | ८१.६४ |
| नबिल | ७,६६९.६८ | ५,६०३.९१ | ३६.८६ |
| नेपाल इन्भेष्टमेन्ट मेगा | ३,८०३.२७ | ५,०२०.८३ | -२४.२५ |
| स्टान्डर्ड चार्टर्ड | २,३५६.२६ | २,३४६.४२ | ०.४२ |
| हिमालयन | ८०२.८४ | ६८३.४४ | १७.४७ |
| नेपाल एसबिआई | १,६८०.५५ | १,३८२.०७ | २१.६ |
| एभरेष्ट | ३,७०१.२१ | ३,९०३.३० | -५.१८ |
| एनआईसी एसिया | ३३२.९६ | ४७८.७ | -३०.४४ |
| माछापुच्छ्रे | १,८८१.११ | १,३१३.५३ | ४३.२१ |
| कुमारी | ४,४९६.९६ | ४८१.९४ | ८३३.१ |
| लक्ष्मी सनराइज | २,४६१.६१ | २,१५६.५४ | १४.१५ |
| सिद्धार्थ | २,३८८.९३ | २,०११.१६ | १८.७८ |
| कृषि | १,५९६.९३ | १,७३३.८० | -७.८९ |
| ग्लोबल | ५,१९१.०७ | ५,३५५.४१ | -३.०७ |
| सिटिजन्स | १,४९९.०६ | १,१८१.५१ | २६.८८ |
| प्राइम | ३,४०६.१७ | २,५८५.५९ | ३१.७४ |
| एनएमबि | ३,१४८.७० | २,६२५.४९ | १९.९३ |
| प्रभु | १,१६६.७९ | २,००१.४० | -४१.७ |
| सानिमा | २,६८७.११ | १,८७०.५० | ४३.६६ |
| कूल | ५६,४७५.०३ | ४७,७९४.७४ | १८.१६ |
क्याटेगोरी : अर्थ













प्रतिक्रिया