Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

फौजदारी अभियोग लागेका बीमा कम्पनीका सीईओ र कर्मचारी निलम्बन गर्न प्राधिकरणको निर्णय


काठमाडौं । फौजदारी अभियोगमा मुद्दा दर्ता भइसकेपछि बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा कर्मचारीहरूलाई निलम्बन गर्ने वा नगर्ने विषयमा देखिएको अन्योल अन्ततः नेपाल बीमा प्राधिकरणले स्पष्ट पारेको छ।

प्राधिकरणले फौजदारी अभियोग लागेका विभिन्न बीमा कम्पनीका सीईओ, सञ्चालक तथा कर्मचारीहरूलाई निलम्बन गर्न सम्बन्धित कम्पनीहरूलाई निर्देशन दिँदै औपचारिक पत्राचार गरेको छ। यससँगै ती कम्पनीहरूमा कामु सीईओ नियुक्त गर्ने बाटो समेत खुलेको छ।

प्राधिकरणका अनुसार सरकारी वकिलको कार्यालयले अभियोजन दर्ता गरी फरार सूचीमा राखेका केही व्यक्तिहरू कार्यालयमा उपस्थित भई नियमित कामकाज गरिरहेको जानकारी पाएपछि यस्तो निर्णय गरिएको हो।

बीमा ऐनमा फौजदारी अभियोग पुष्टि भई सजाय तथा जरिवाना भुक्तान गरेको व्यक्तिले पाँच वर्षसम्म कुनै पनि बीमा कम्पनीमा काम गर्न नपाउने व्यवस्था रहेको छ। साथै, प्रहरी अनुसन्धानपछि अभियोजन गरिएका व्यक्तिहरूमाथिको आरोप पुष्टि नहुने पर्याप्त आधार तत्काल देखिएको अवस्था नभएकाले उनीहरूलाई जिम्मेवारीमा निरन्तर राख्न उपयुक्त नदेखिएको प्राधिकरणको निष्कर्ष छ।

कानुनी व्यवस्था स्पष्ट हुँदाहुँदै पनि केही सीईओहरू पुनः काममा फर्कने प्रयासमा रहेको चर्चा चलिरहेका बेला प्राधिकरणले निलम्बनसम्बन्धी औपचारिक सूचना जारी गरेको हो। अब सम्बन्धित कम्पनीहरूको सञ्चालक समितिले बैठक बसेर कामु सीईओको जिम्मेवारी तोक्नुपर्ने अवस्था सिर्जना भएको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट