Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

बजारमा नक्कली औषधिः एउटा पसल बन्द, १५ फार्मेसीलाई कारवाही सिफारिस


काठमाडौं। बजारमा नक्कली ‘सेरोफ्लो रोटक्याप्स’ औषधि फेला परेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले औषधि बजार अनुगमनलाई तीव्र बनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा बिदाको दिनसमेत निरन्तर अनुगमन सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ।

औषधि व्यवस्था विभागका अनुसार काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र र बनेपामा गरी ६६ वटा फार्मेसीमा अनुगमन तथा निरीक्षण गरिएको छ। अनुगमनका क्रममा महाराजगञ्ज क्षेत्रमा १५ वटा, वीर अस्पताल र चाबहिल आसपास १८ वटा, पाटन–जावलाखेल क्षेत्रमा ११ वटा, बसपार्क–बालाजु क्षेत्रमा १४ वटा तथा बनेपामा आठ वटा औषधि पसलको निरीक्षण गरिएको हो।

अनुगमनका क्रममा बनेपास्थित एक औषधि पसलबाट ‘सेरोफ्लो रोटक्याप्स’ नामक २१ थान नक्कली औषधि बरामद भएको विभागले जनाएको छ। उक्त पसललाई तत्काल बन्द गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।विभागका अनुसार नवीकरण नगरी सञ्चालन भएका, म्याद गुज्रिएका औषधि बिक्री गरिरहेका, फार्मासिस्टबिनै औषधि वितरण गरिरहेका तथा सरसफाइ र निर्धारित मापदण्ड पालना नगरेका १५ भन्दा बढी फार्मेसीलाई कारबाहीका लागि औषधि व्यवस्था विभाग, बिजुलीबजारमा उपस्थित हुन निर्देशन दिइएको छ।

नक्कली औषधिको भण्डारण, आपूर्ति तथा अनधिकृत बिक्री वितरणमा संलग्न व्यक्ति, संस्था र उत्पादकको पहिचान गरी कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ।

विभागले आगामी केही दिनसम्म अनुगमनलाई निरन्तरता दिने जनाएको छ। यसबाट सर्वसाधारणले गुणस्तरीय तथा सुरक्षित औषधि प्राप्त गर्न सक्ने र अवैध औषधि कारोबार नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विभागले नागरिकलाई दर्ता तथा आधिकारिक फार्मेसीबाट मात्र औषधि खरिद गर्न र कुनै शंकास्पद गतिविधि देखिएमा सम्बन्धित निकायमा तत्काल जानकारी गराउन आग्रह गरेको छ।


क्याटेगोरी : स्वास्थ्य/जीवन शैली

प्रतिक्रिया


ताजा अपडेट