टोकियो विद्यालयमा आगलागी, ३०० जनाको सुरक्षित उद्धार
जापानको राजधानी टोकियोमा रहेको एक प्राथमिक विद्यालयमा आज बिहान आगलागी भएपछि झन्डै ३०० जना विद्यार्थी र शिक्षकलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ ।
विद्यालय भवनको माथिल्लो तलाबाट आगो फैलिएको भए पनि समयमै गरिएको उद्धार र नियन्त्रण प्रयासका कारण कुनै मानवीय क्षति नभएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ ।
टोकियोको डाउनटाउन क्षेत्रमा रहेको टाकिनोगावा नम्बर–३ प्राथमिक विद्यालयमा आगलागी भएको हो । टोकियो फायर विभागका अनुसार चार तले विद्यालय भवनको चौथो तलामा रहेको सङ्गीत कक्ष नजिकबाट आगो शुरू भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
अग्नि नियन्त्रकहरू घटनास्थलमा पुगेर भवनभित्र रहेका एक शिक्षक तथा केही विद्यार्थीलाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएका थिए । फायर विभागका अनुसार उद्धार गरिएका कसैलाई पनि गम्भीर वा ज्यान जोखिममा पार्ने खालको चोट लागेको छैन ।
आगलागी शुरू भएपछि विद्यालय प्रशासनले पनि तत्काल सुरक्षा प्रोटोकल लागू गर्दै विद्यार्थी र कर्मचारीलाई सुरक्षित ठाउँतर्फ सार्ने व्यवस्था गरेको थियो ।
अधिकारीहरूका अनुसार आगो फैलिन नदिन तत्काल कदम चालिएकाले ठूलो क्षति हुनबाट जोगिएको छ । यद्यपि भवनको माथिल्लो भागमा केही भौतिक क्षति पुगेको अनुमान छ ।
आगलागीको वास्तविक कारण भने अझै खुल्न सकेको छैन । टोकियो फायर विभाग र सम्बन्धित निकायहरूले घटनाको विस्तृत अनुसन्धान शुरू गरेका छन् ।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया