Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

बेलायती प्रधानमन्त्री कीर स्टार्मरले गरे राजीनामाको घोषणा


काठमाडौं । बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले सोमबार आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन्। लेबर पार्टीभित्रबाट बढ्दो दबाब र पार्टीका सांसदहरूको तीव्र असन्तुष्टिपछि स्टार्मरले यो निर्णय लिएका हुन्।

आगामी केही साताभित्र लेबर पार्टीले नयाँ नेता चयन नगरेसम्म उनी कार्यवाहक प्रधानमन्त्रीका रूपमा पदमा रहिरहनेछन्।

आफ्नो सरकारी निवास १० डाउनिङ स्ट्रिटबाहिर देशवासीलाई सम्बोधन गर्दै स्टार्मरले भने, ‘मैले सधैँ आफूले माया गर्ने देशलाई पहिलो प्राथमिकतामा राखेर निर्णय लिएको छु। मेरो पार्टीले आगामी चुनावमा नेतृत्व गर्न म उपयुक्त व्यक्ति हुँ कि होइन भनेर प्रश्न गरिरहेको छ, र म त्यसको जवाफ स्वीकार गर्छु। त्यसैले म लेबर पार्टीको नेताको रूपमा राजीनामा दिँदैछु।’

निकै भावुक देखिएका उनले अगाडि थपे, ‘जब म देशको यो सबैभन्दा ठूलो जिम्मेवारी (पद) छाड्नेछु, म मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी- एक असल श्रीमान् र बुबा बन्नमा बढी समय बिताउनेछु।’

स्टार्मरको राजीनामासँगै एन्डी बर्नह्याम नयाँ प्रधानमन्त्रीको मुख्य दाबेदारका रूपमा अगाडि आएका छन् । गत हप्ता भएको उप-चुनावमा मेकरफिल्डबाट विजयी भएका बर्नह्याम आजै सांसदको रूपमा शपथ लिन वेस्टमिन्स्टर पुग्दैछन् ।

लेबर पार्टीभित्र धेरैले यो नेतृत्व परिवर्तनलाई ‘कोरोनेसन’ (निर्विरोध चयन) को रूपमा हेरेका छन् । यसको अर्थ बर्नह्यामको विरुद्धमा अरू कोही उम्मेदवार नहुने र उनी निर्विरोध रूपमा स्टाररको उत्तराधिकारी बन्ने सम्भावना छ ।

यदि प्रक्रिया सोचेअनुसार अगाडि बढेमा आगामी सेप्टेम्बरको अन्त्यतिर हुने लेबर पार्टीको सम्मेलनसम्म बर्नह्यामले नयाँ प्रधानमन्त्रीको रूपमा कार्यभार सम्हाल्न सक्नेछन् । यद्यपि, उनका कतिपय समर्थकहरूले भने यो समयतालिका निकै ढिलो भएको भन्दै छिटो नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग गरिरहेका छन् ।

नयाँ प्रधानमन्त्री कहिले बन्नेछन्?

स्टार्मरले राजीनामाको घोषणा गर्दै पार्टीको नयाँ नेतृत्व चयनको समयसीमा पनि सार्वजनिक गरेका छन्। जसअनुसार जुलाई ९ देखि उम्मेदवारी दर्ता खुला हुनेछ।

यदि एन्डी बर्नहमको विरुद्धमा कोही उम्मेदवार उठेनन् र उनी निर्विरोध भए भने उनी जुलाईको मध्यमै बेलायतको नयाँ प्रधानमन्त्री बन्नेछन्।

तर, पार्टीभित्र चुनावमै जानुपर्ने अवस्था आएमा अगस्टको अन्त्यसम्ममा नयाँ प्रधानमन्त्री चयन भइसक्नेछन्।

 

 

 


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट