हर्मुज खुला, इन्धन सस्ताे भएको अमेरिकी उपराष्ट्रपतिको दाबी
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रणनीतिक रूपमा महत्वपूर्ण मानिने हर्मुज जलडमरूमध्य हाल पूर्ण रूपमा खुला रहेको र त्यहाँबाट कच्चा तेल तथा प्राकृतिक ग्यासको ढुवानी नियमित रूपमा अघि बढिरहेको बताएका छन् । स्विट्जरल्याण्डको बर्गेनस्टकमा सम्पन्न अमेरिका–इरान वार्ताको पहिलो चरणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पछिल्लो अवस्था सार्वजनिक गरेका हुन् ।
उनका अनुसार हर्मुजमार्गबाट इन्धन आपूर्ति सहज भएपछि अन्तर्राष्ट्रिय बजारमा तेल र ग्यासको मूल्य घट्न थालेको छ । विश्वको करिब २० प्रतिशत समुन्द्री तेल ढुवानी हुने यो मार्गमा हालै तनाव बढेको थियो । फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि संयुक्त आक्रमण गरेपछि स्थिति थप जटिल बनेको थियो ।
त्यसपछि समुद्री सुरक्षासम्बन्धी तनाव बढ्दै जाँदा अमेरिका र इरान दुवैले एकअर्का लक्षित समुद्री गतिविधिमा कडाइ गरेका थिए । तर पछिल्लो कूटनीतिक पहलपछि अवस्था सहज बन्दै गएको भेन्सले दाबी गरे ।
उनका अनुसार इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका निरीक्षकहरूलाई पुनः आमन्त्रण गर्न सहमति जनाएको छ । कतार र पाकिस्तानको मध्यस्थतामा सुरु भएको वार्तामा अमेरिकी, इरानी, कतारी र पाकिस्तानी प्रतिनिधिबीच सकारात्मक प्रगति भएको उनले बताए ।
इस्लामाबाद समझदारीपछि सैन्य गतिविधि रोक्ने सहमति भएको र आगामी ६० दिनभित्र अन्तिम शान्ति सम्झौतामा पुग्ने लक्ष्यसहित वार्ता अघि बढिरहेको उल्लेख गरिएको छ ।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया