पखेटामा चिरा देखिएपछि १६ वटा एअरबस ए ३८० विमान ग्राउन्डेड गरिने
विश्वकै सबैभन्दा ठूलो यात्रुवाहक विमान ए–३८० का केही जहाजको पखेटाभित्र रहेको मुख्य संरचनात्मक भागमा चिरा देखिएपछि विमान निर्माता एअरबसले १६ वटा सुपरजम्बो विमानको विशेष निरीक्षण गर्ने भएको छ ।
युरोपेली सङ्घ (ईयू) को उड्डयन सुरक्षा निकायले नियमित मर्मत परीक्षणका क्रममा पखेटाको महत्त्वपूर्ण संरचनामा समस्या भेटिएपछि सम्बन्धित विमानहरूको तत्काल निरीक्षण गर्न निर्देशन दिएको एअरबसलाई उदधृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।
निरीक्षणमा समावेश गरिएका १६ विमानमध्ये १५ वटा एमिरेट्स र एउटा क्वान्टास एअरलाइन्सले सञ्चालन गरिरहेका छन् । तीमध्ये ५ वटा एमिरेट्सका विमानमा तत्काल जाँच आवश्यक रहेको खबरमा उल्लेख छ ।
एमिरेट्सले आउँदो ४८ घण्टाभित्र निरीक्षण प्रक्रिया शुरू गर्ने र मर्मतपछि मात्र विमानहरू पुनः सेवामा फर्काइने जनाएको छ । कम्पनीले उडान तालिकामा न्यूनतम असर पार्ने गरी एअरबस र सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि बताएको छ ।
ए–३८० सञ्चालन गर्ने वायुसेवामा एमिरेट्स, सिङ्गापुर एअरलाइन्स, ब्रिटिश एअरवेज, क्वान्टास, लुफ्थान्सा, कतार एअरवेज, कोरियन एअर, एतिहाद एअरवेज, एएनए र एशियाना एअरलाइन्स रहेका छन् । विश्वकै सबैभन्दा ठूलो ए–३८० फ्लीट एमिरेट्ससँग छ र यसले सञ्चालनमा रहेका आधाभन्दा धेरै सुपरजम्बो उडाउँदै आएको छ ।
सन् २०२१ मा एअरबसले ए–३८० उत्पादन बन्द गरिसकेको भए पनि यी विमानहरू अझै लामो दूरीका अन्तर्राष्ट्रिय उडानमा व्यापक रूपमा प्रयोग भइरहेका छन् ।
एअरबसका अनुसार गएको डिसेम्बरको प्राविधिक निर्देशनपछि भएको परीक्षणका क्रममा पखेटाको संरचनात्मक मजबुतीमा असर पार्न सक्ने चिराहरू फेला परेका थिए ।
ए–३८० विमानले यसअघि पनि पखेटासम्बन्धी समस्या सामना गरेको थियो । सन् २०१२ मा पखेटाको बाहिरी भाग र भित्री संरचनालाई जोड्ने भागमा चिरा देखिएपछि विश्वभरका ए–३८० विमानहरूको निरीक्षण भएको थियो । त्यसपछि एअरबसले नयाँ विमानमा डिजाइन परिवर्तन गरी समस्या समाधान गर्ने प्रयास गरेको थियो ।
क्याटेगोरी : अन्तराष्ट्रिय, अर्थ













प्रतिक्रिया