अमेरिकी नाकाबन्दी : स्ट्रेट अफ होर्मुजमा थप अन्योल
काठमाडौं । इरानी बन्दरगाहहरूमा अमेरिकाले लगाएको समुद्री नाकाबन्दीको पहिलो दिन विश्व व्यापार र पारवहनमा ठुलो अन्योल छाएको छ। इस्लामाबादमा सम्पन्न शान्ति वार्ता असफल भएपछि डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले इरानतर्फ आउने–जाने जहाजहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
यस कदमसँगै विश्वकै महत्त्वपूर्ण तेल आपूर्ति मार्ग मानिने उक्त जलडमरूमध्यमा जहाजहरूको आवागमन उल्लेख्य रूपमा घटेको छ।
पानीजहाजसम्बन्धी तथ्याङ्कअनुसार नाकाबन्दी लागू भएको पहिलो २४ घण्टामा निकै सीमित संख्यामा मात्र जहाजहरूले उक्त मार्ग प्रयोग गरेका छन्। यसअघि दैनिक १३० भन्दा बढी जहाज सञ्चालन हुने यस क्षेत्रमा अहिले आवतजावत न्यूनतम स्तरमा झरेको छ।
अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार पहिलो दिन कुनै पनि व्यापारिक जहाजले नाकाबन्दी उल्लङ्घन गर्न सकेनन्। कमाण्डले केही जहाजहरूलाई नियन्त्रणमा लिएर पुनः इरानी बन्दरगाहतर्फ फर्काइएको जनाएको छ।
यद्यपि, केही जहाजहरूले भने उक्त जलमार्ग पार गरेका छन्। इरानसँग सम्बन्धित मानिएका तीनवटा ट्याङ्करहरू स्ट्रेट अफ होर्मुज पार गरे पनि ती इरानी बन्दरगाहतर्फ भने गइरहेका थिएनन्।
यसबीच चीनले अमेरिकाको कदमप्रति आपत्ति जनाउँदै यसलाई ‘खतरनाक र गैरजिम्मेवार’ कदम भनेको छ। चिनियाँ विदेश मन्त्रालयले यस्तो कदमले पश्चिम एसियामा तनाव झन् चर्किने चेतावनी दिएको छ।
अमेरिकी सेनाले जारी गरेको सूचनाअनुसार भने मानवीय सहायता सामग्री बोकेका जहाजहरूलाई नाकाबन्दीमा आंशिक छुट दिइनेछ।
क्याटेगोरी : अन्तराष्ट्रिय










प्रतिक्रिया