Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

३० दिनभन्दा बढी बस्न थाइल्यान्डमा अब भिसा अनिवार्य


काठमाडौं । थाइल्यान्ड सरकारले विदेशी पर्यटकका लागि लागू गरिएको ६० दिने भिसा छुट सुविधा अन्त्य गर्ने निर्णय गरेको छ। अब विदेशी नागरिकले ३० दिनभन्दा बढी समय थाइल्यान्डमा बस्न चाहे अनिवार्य रूपमा भिसा लिनुपर्ने भएको छ।

कोभिड–१९ महामारीपछि पर्यटन र अर्थतन्त्रलाई पुनर्जीवित गर्ने उद्देश्यले थाइल्यान्डले जुलाई २०२४ देखि विश्वका ९३ देशका नागरिकलाई बिना भिसा ६० दिनसम्म बस्न अनुमति दिएको थियो। उक्त व्यवस्थाबाट अस्ट्रेलिया, चीन, भारत, अमेरिका, फ्रान्स, जर्मनी, इटाली, स्पेनलगायतका देशका पर्यटक लाभान्वित भएका थिए।

तर, मंगलबार थाई सरकारले उक्त सुविधा अन्त्य गर्ने योजनालाई स्वीकृति दिएको हो। नयाँ व्यवस्थाअनुसार अब विदेशी पर्यटकको बसाइ अवधि सम्बन्धित देशअनुसार छुट्टाछुट्टै निर्धारण गरिनेछ।

थाई सरकारले सुरक्षा चुनौती र जटिल बन्दै गएको भिसा प्रणालीलाई नीति परिवर्तनको मुख्य कारण बताएको छ। पछिल्लो समय थाइल्यान्डमा लागूपदार्थ कारोबार तथा यौन बेचबिखनसँग सम्बन्धित घटनामा विदेशी नागरिकको संलग्नता बढेपछि सरकार दबाबमा परेको थियो।

थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले वर्तमान आर्थिक अवस्था र राष्ट्रिय सुरक्षाको आवश्यकतालाई ध्यानमा राख्दै नीति परिवर्तन गरिएको बताएका छन्। यस्तै, थाई विदेश मन्त्रालयले अब ३० दिनभन्दा लामो बसाइका लागि विदेशी नागरिकले पूर्वस्वीकृत भिसा लिनुपर्ने स्पष्ट पारेको छ।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट