Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

चीन र रुसबीच व्यापार र प्रविधिसम्बन्धी २० भन्दा धेरै सम्झौतामा हस्ताक्षर


चीन र रुसले व्यापार र प्रविधिसम्बन्धी २० भन्दा धेरै सम्झौताहरू हस्ताक्षर गरेका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशबीचको व्यापक रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउन २० भन्दा धेरै द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गरेका बीबीसीले जनाएको छ । दुई नेताले बहु–ध्रुवीय विश्व व्यवस्थाको घोषणापत्रमा पनि हस्ताक्षर गरेका छन् ।

रुसी राष्ट्रपति पुटिनको दुई दिने चीन भ्रमणका क्रममा बेइजिङमा यी सम्झौताहरूमा हस्ताक्षर भएको हो ।

यस्तै बेइजिङमा वार्ताका क्रममा सी र पुटिनले दुई देशबीचको प्राकृतिक ग्यास पाइपलाइनको योजना नवीकरण गरेका छन् । यद्यपि परियोजनाको बारेमा कुनै विवरण वा यसको सम्पन्नताको समयसीमा सार्वजनिक भएको छैन ।

चिनियाँ र रुसी राष्ट्रपतिले पछि आफ्नो निजी चिया बैठकमा युक्रेन, इरान र अमेरिकासँगको सम्बन्धलगायत अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गर्ने खबरमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गरेको एक हप्ता नपुग्दै रुसी राष्ट्रपति पुटिन बेइजिङ पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सीसँगको शीर्ष वार्ताका लागि पुटिन हिजो बेइजिङ पुगेका हुन् ।

भेटमा चिनियाँ राष्ट्रपतिले दुई देशबीचको सम्बन्ध अझ प्रगति र तीव्र विकासको नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । यस्तै रुसी राष्ट्रपतिले दुई देशबीचको सम्बन्ध अभूतपूर्व उच्चस्तरमा पुगेको उल्लेख गरे।

 


क्याटेगोरी : अन्तराष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट