इरान युद्धमा अमेरिकाका ४२ वटा एयरक्राफ्ट र ड्रोन ध्वस्त, साढे ४ खर्ब खर्च
काठमाडौं । इरानविरुद्ध सञ्चालन गरिएको ‘अपरेसन एपिक फ्युरी’ का क्रममा अमेरिकाले ठूलो सैन्य क्षति बेहोरेको अमेरिकी कङ्ग्रेसको एक रिपोर्टले जनाएको छ । रिपोर्टअनुसार युद्धमा अमेरिकी सेनाका ४२ वटा एयरक्राफ्ट तथा ड्रोन नष्ट वा गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् ।
अमेरिकी रक्षा मन्त्रालयका अनुसार यस सैन्य अभियानमा हालसम्म करिब साढे ४ खर्ब रुपैयाँ बराबर खर्च भइसकेको छ ।
रिपोर्टमा उल्लेख भएअनुसार नष्ट भएका सैन्य उपकरणमध्ये ६ वटा फाइटर तथा अट्याक जेट रहेका छन् । तीमध्ये एक एफ–३५, चार एफ–१५ई स्ट्राइक इगल र एक ए–१० थन्डरबोल्ट–२ रहेका छन् । अप्रिलको सुरुवातमा इरानले अमेरिकाको एउटा एफ–१५ई जेट खसालेको दाबी गरेको थियो ।
युद्धमा सबैभन्दा बढी क्षति ड्रोनतर्फ भएको बताइएको छ । कुल २५ वटा ड्रोन ध्वस्त भएका छन्, जसमा २४ वटा एमक्यु–९ रिपर र एउटा एमक्यु–४सी ट्राइटन समावेश छन् । यसबाहेक अन्य ११ वटा विमान पनि पूर्ण रूपमा नष्ट वा क्षतिग्रस्त भएको रिपोर्टमा उल्लेख छ ।
यसैबीच, न्युयोर्क टाइम्सको रिपोर्टलाई उद्धृत गर्दै अमेरिका र इजरायलले इरानको परमाणु तथा क्षेप्यास्त्र क्षमता कमजोर बनाउने मात्र नभई त्यहाँ सत्तापलट गराउने रणनीति समेत बनाएको दाबी गरिएको छ ।
रिपोर्टअनुसार इरानका पूर्वराष्ट्रपति महमुद अहमदिनेजादलाई नयाँ नेताका रूपमा अघि सार्ने योजना थियो । युद्धको पहिलो दिन इजरायलले तेहरानस्थित अहमदिनेजादको घरनजिकै आक्रमण गरेको र त्यसको उद्देश्य उनलाई नजरबन्दबाट मुक्त गराउनु रहेको उल्लेख गरिएको छ ।
त्यसपछि अमेरिका र इजरायल सत्तापलटको योजनाबाट पछि हटेको बताइएको छ । अहमदिनेजाद लामो समयदेखि इरानी सेना र सर्वोच्च नेतासँगको सम्बन्ध बिग्रिएपछि नजरबन्दमा रहेको जनाइएको छ ।
रिपोर्टका अनुसार सत्तापलटको योजनालाई तीन चरणमा विभाजन गरिएको थियो । पहिलो चरणमा लगातार हवाई आक्रमण गर्ने, इरानका सर्वोच्च नेताहरूलाई निशाना बनाउने तथा कुर्द लडाकु समूहलाई सक्रिय बनाउने रणनीति तय गरिएको थियो । दोस्रो चरणमा इजरायलमार्फत अराजकता र युद्धको वातावरण सिर्जना गरी इरानी सत्ता कमजोर भइरहेको सन्देश प्रवाह गर्ने योजना थियो । तेस्रो चरणमा पूर्वाधारमा क्षति पुर्याउने, ग्यास तथा विद्युत् आपूर्ति अवरुद्ध गर्ने र राजनीतिक दबाब बढाएर अहमदिनेजादलाई सत्तामा ल्याउने तयारी गरिएको दाबी गरिएको छ ।
उता, अमेरिकी सिनेटले राष्ट्रपति Donald Trump को सैन्य शक्ति सीमित गर्ने प्रस्ताव ५०–४७ मतले पारित गरेको छ । चार जना रिपब्लिकन सांसदले समेत ट्रम्पविरुद्ध मतदान गरेका छन् । प्रस्ताव कानुन बनेमा इरानविरुद्ध सैन्य कारबाही जारी राख्न ट्रम्पले कङ्ग्रेसको अनुमति लिनुपर्नेछ ।
यसैबीच, अमेरिकी कोस्टगार्ड एकेडेमीमा सम्बोधन गर्दै ट्रम्पले इरानको नौसेना र वायुसेना लगभग समाप्त भइसकेको दाबी गरेका छन् । उनले अब अमेरिका कारबाहीलाई अन्तिम चरणमा पुर्याउने वा इरान वार्तामा आउने भन्ने मात्रै बाँकी रहेको बताएका छन् ।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया