Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

होन्डुरस गोलीकाण्डमा २५ जनाको मृत्यु, मजदुर र प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार


काठमाडौं । होन्डुरसमा बिहीबार भएका दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २५ जनाको ज्यान गएको छ । जसमा १९ जना मजदुर र ६ जना प्रहरी अधिकारी रहेका छन् । अधिकारीहरूका अनुसार दुवै आक्रमणमा अज्ञात बन्दुकधारीहरूले गोली चलाएका थिए ।

पहिलो आक्रमण उत्तरी होन्डुरसको ट्रुजिलो सहरस्थित एउटा बगान (प्लान्टेसन) मा भएको थियो । सार्वजनिक अभियोजक कार्यालयका प्रवक्ता युरी मोराले दिएको जानकारीअनुसार उक्त आक्रमणमा १९ जना मजदुर मारिएका छन् ।

यो क्षेत्र लामो समयदेखि जग्गा विवाद र कृषि संघर्षको केन्द्र रहँदै आएको छ । वातावरण संरक्षणकर्मीहरूमाथि हुने आक्रमणलाई लिएर पनि यो क्षेत्र पहिलेदेखि नै चर्चामा रहने गरेको छ ।

दोस्रो आक्रमण ग्वाटेमालाको सिमाना नजिकै ओमोआ सहरमा भएको थियो, जहाँ बन्दुकधारीहरूले प्रहरी टोलीमाथि आक्रमण गरेका थिए । यसमा एक वरिष्ठ अधिकारीसहित ६ जना प्रहरी मारिएका छन् ।

ती अधिकारीहरू एन्टी–ग्याङ मिसनमा खटिएका थिए र राजधानी तेगुसिगाल्पाबाट ओमोआ जाँदै थिए । होन्डुरसको सुरक्षा मन्त्रालयले दुवै आक्रमणको अनुसन्धान गर्न फरेन्सिक विशेषज्ञ र अभियोजकहरूको टोली पठाइएको जनाएको छ । सरकारले प्रभावित क्षेत्रहरूमा सुरक्षा अभियानलाई तीव्र पार्ने बताएको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट