इरान युद्धका क्रममा अमेरिकाका ४२ विमान क्षतिग्रस्त, कति भयो खर्च ?
काठमाडौं । कंग्रेसनल रिसर्च सर्भिसको आधिकारिक प्रतिवेदन अनुसार, फेब्रुअरी २८ मा इरान विरुद्ध सुरु गरिएको डोनल्ड ट्रम्पको बृहत् सैन्य अभियान अपरेसन एपिक फ्युरीका क्रममा लडाकु विमान, इन्धन भर्ने विमान र ड्रोनसहित कम्तीमा ४२ वटा अमेरिकी सैन्य विमानहरू नष्ट भएका वा क्षतिग्रस्त भएका छन् ।
मागा प्रमुखको यस सैन्य कारबाहीले तेहरानलाई क्रुद्ध बनायो र इरानले तुरुन्तै जवाफी कारबाही गर्यो । यसले उक्त क्षेत्रलाई तनावपूर्ण बनाउनुका साथै संकटलाई अझ गहिरो बनाएको छ ।
वर्गीकरण, जारी युद्ध गतिविधि र क्षतिको विवरण पुष्टि गर्ने क्रममा क्षतिग्रस्त वा नष्ट भएका विमानहरूको संख्या अझै परिवर्तन हुन सक्ने प्रतिवेदनमा भनिएको छ ।
सीआरएसका अनुसार क्षतिग्रस्त वा नष्ट भएका सैन्य उपकरणमा चार वटा एफ–१५ई स्ट्राइक इगल, एउटा एफ–३५ए लाइटनिङ २, एउटा ए–१० थन्डरबोल्ट २, सात वटा केसी–१३५ स्ट्र्याटोट्यांकर, एउटा ई–३ सेन्ट्री अवाक्स, दुई वटा एमसी–१३०जे कमान्डो २, एउटा एचएच–६०डब्ल्यू जोली ग्रीन २ हेलिकप्टर, २४ वटा एमक्यू–९ रिपर ड्रोन तथा एउटा एमक्यू–४सी ट्राइटन ड्रोन रहेका छन्।
सीआरएसले यी तथ्यांक अमेरिकी रक्षा मन्त्रालय, अमेरिकी सेन्ट्रल कमान्ड र विभिन्न सञ्चारमाध्यमका रिपोर्टका आधारमा संकलन गरेको जनाएको छ।
मे १२ मा आयोजित हाउस एप्रोप्रिएसन उपसमितिको सुनुवाइमा पेन्टागनका कार्यवाहक कन्ट्रोलर जुल्स डब्लु हर्स्ट तृतीयले इरानविरुद्धको अमेरिकी सैन्य अभियानको लागत करिब २९ अर्ब डलर पुग्ने अनुमान प्रस्तुत गरेका थिए।
उनका अनुसार लागत वृद्धि हुनुको मुख्य कारण सैन्य उपकरणको मर्मत, प्रतिस्थापन तथा नयाँ खरिदको खर्च हो। युद्धका क्रममा उच्च मूल्यका सैन्य सम्पत्ति क्षतिग्रस्त हुँदा सञ्चालन खर्च पनि उल्लेखनीय रूपमा बढेको बताइएको छ।
अमेरिकी रक्षा विश्लेषकहरूले युद्ध लम्बिँदै गएमा खर्च अझ तीव्र रूपमा बढ्न सक्ने चेतावनी दिएका छन्। मिसाइल भण्डार पुनः भर्ने, नष्ट भएका विमान प्रतिस्थापन गर्ने तथा जलसैनिक र हवाई अभियानलाई निरन्तरता दिन थप अर्बौं डलर खर्च हुने अनुमान गरिएको छ।
यसैबीच राष्ट्रपति ट्रम्पले आर्थिक वर्ष २०२७ का लागि १५ खर्ब डलर बराबरको रक्षा बजेट प्रस्ताव गरेका छन्। यो प्रस्तावित बजेट आर्थिक वर्ष २०२६ को तुलनामा करिब ४२ देखि ४४ प्रतिशत बढी रहेको बताइएको छ।
पेन्टागनले पश्चिम एसियामा जारी सैन्य गतिविधिका कारण हतियार उत्पादन बढाउन र मौज्दात पुनः भर्न थप २०० अर्ब डलरभन्दा बढी रकम आवश्यक पर्ने जनाएको छ।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया