रास्वपा सांसद मिङ्मा डेभिड शेर्पाले संघीय संसद्को लोगो सहित गरे सगरमाथा आरोहण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।
सांसद शेर्पाले बुधबार बिहान ५ः४० बजे सगरमाथाको चुचुरोमा पुगेर सफल आरोहण पूरा गरेका हुन्। आरोहणका क्रममा उनले संघीय संसद्को आधिकारिक लोगो समेत सगरमाथाको शिखरमा प्रदर्शन गरेका थिए।
‘सदनदेखि शिखरसम्म’ भन्ने नारासहित सगरमाथा अभियानमा निस्किएका शेर्पा बहालवाला सांसदका रूपमा विश्वको सर्वोच्च शिखर आरोहण गर्ने विरलै व्यक्तित्वमध्ये एक बनेका छन्।
सफल आरोहणपछि सुरक्षित रूपमा आधार शिविर फर्किएका शेर्पाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अभियान सफलतापूर्वक सम्पन्न भएको जानकारी सार्वजनिक गरेका थिए। उनले नौ दिनको यात्रापछि सगरमाथाको चुचुरोमा पुग्न सफल भएको उल्लेख गरेका छन्।
सांसद शेर्पाले आफ्नो सगरमाथा आरोहण अभियान सफल बनाउन सहयोग पुर्याउने सभामुख डोलप्रसाद अर्यालसहित सम्पूर्ण सहयोगी, शुभेच्छुक तथा साथ दिने सबैप्रति आभार व्यक्त गरेका छन्।
उनको यो आरोहणलाई राजनीतिक तथा सामाजिक क्षेत्रबाट समेत प्रेरणादायी उपलब्धिका रूपमा हेरिएको छ। नेपाली संसद्को पहिचानलाई विश्वकै सर्वोच्च शिखरसम्म पुर्याएको भन्दै विभिन्न क्षेत्रबाट उनको प्रशंसा भइरहेको छ।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया