Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

रास्वपामा सर्वसम्मत नेतृत्व चयन गर्ने समझदारी, एक उपसभापति र महामन्त्री मनोनीत गरिने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो तथा एकता महाधिवेशनलाई लक्षित गर्दै नेतृत्व चयनमा सर्वसम्मतिको अभ्यास अघि बढाउने समझदारी गरेको छ। बिहीबार बसेको सचिवालय बैठकले पदाधिकारीसहितका मुख्य नेतृत्व पदमा सकभर निर्वाचन नगरी सहमतिका आधारमा नेतृत्व चयन गर्ने निष्कर्ष निकालेको हो।

पार्टीभित्र एकताको सन्देश प्रवाह गर्ने उद्देश्यसहित नेतृत्व चयन प्रक्रियालाई सहमतिमूलक बनाउने तयारी गरिएको नेताहरूले बताएका छन्। सचिवालय बैठकले पार्टी विधानमा समेत संशोधन गर्दै १५१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने निर्णय गरेको छ। जसमा १०० जना निर्वाचित र ५१ जना मनोनीत सदस्य रहने व्यवस्था गरिएको छ।

संशोधित व्यवस्थाअनुसार पार्टीमा तीन जना उपसभापति रहनेछन्, जसमध्ये एक महिला अनिवार्य हुनेछिन् भने एक जना मनोनीत गरिनेछ। दुई जना महामन्त्री रहने व्यवस्था गरिएको छ, जसमा एक जना मनोनीत हुनेछन्। त्यस्तै पाँच जना सहमहामन्त्री रहने र तीमध्ये दुई जना मनोनयनमार्फत चयन गरिने सहमति भएको छ।

पार्टी संरचनाअन्तर्गत एक जना कोषाध्यक्ष, दुई जना सहकोषाध्यक्ष, एक जना प्रवक्ता तथा तीन जना सहप्रवक्ता रहने व्यवस्था गरिएको छ। वरिष्ठ नेताको पदलाई पनि यथावत् राख्ने निर्णय गरिएको छ भने उक्त पदसम्बन्धी स्थायी व्यवस्था विधान महाधिवेशनपछि टुंगो लगाइने जनाइएको छ।

पार्टी स्रोतका अनुसार सभापति, वरिष्ठ नेता, उपसभापति, महामन्त्रीलगायत पदमा सकभर प्रतिस्पर्धात्मक निर्वाचन नगरी सहमतिमै नेतृत्व चयन गर्ने समझदारी बनेको छ। एकता प्रक्रियामा सहभागी विभिन्न समूह तथा पक्षहरूको प्रतिनिधित्व सुनिश्चित गर्दै संगठनलाई समावेशी ढंगले अघि बढाउने तयारी गरिएको छ।

महाधिवेशनअन्तर्गत पहिलो चरणमा सभापति र १०० सदस्यीय केन्द्रीय समितिको निर्वाचन हुनेछ भने दोस्रो चरणमा निर्वाचित केन्द्रीय समितिबाट पदाधिकारी चयन गरिने व्यवस्था रहनेछ।

रास्वपाको असार ७ देखि ९ गतेसम्म हुने महाधिवेशनको उद्घाटन सत्रलाई पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। उद्घाटन सत्रपछि नेतृत्व चयनको प्रक्रिया अघि बढाइने पार्टीले जनाएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट