प्रतिनिधिसभामा चार अध्यादेश अघि बढ्दै, आज स्वीकृतिका लागि प्रस्ताव पेश हुने
काठमाडौं । सरकारले ल्याएका आठ अध्यादेशमध्ये चार वटा अध्यादेश प्रतिनिधिसभाबाट अघि बढ्ने भएका छन्। संघीय संसद्को चालू अधिवेशन सुरु हुनुअघि जारी गरिएका ती अध्यादेशमध्ये चार वटा शुक्रबार प्रतिनिधिसभामा स्वीकृतिका लागि प्रस्तुत गरिने कार्यसूची तय गरिएको छ।
सरकारले संसद्को अधिवेशन नभएको समयमा संवैधानिक परिषद् सम्बन्धी, सार्वजनिक पदाधिकारीको पदमुक्ति, सार्वजनिक खरिद, विश्वविद्यालयसम्बन्धी, स्वास्थ्य विज्ञान प्रतिष्ठान, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ), सहकारी तथा केही नेपाल ऐन संशोधनसम्बन्धी गरी आठ अध्यादेश जारी गरेको थियो। ती अध्यादेशहरू गत वैशाख २८ गते संघीय संसद्का दुवै सदनमा पेश गरिएका थिए।
शुक्रबारको बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेशलाई स्वीकृति प्रदान गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी, अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश स्वीकृतिका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) अध्यादेशलाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव राख्ने कार्यसूची छ।
यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेशलाई स्वीकृतिका लागि प्रतिनिधिसभामा प्रस्तुत गर्नेछिन्।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया