Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

सरकारले सुदूरपश्चिमको विकासलाई उपेक्षा गर्‍यो, नयाँ शक्तिहरूमा दम्भ देखियो: सांसद भट्ट


काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणदत्त भट्टले सरकारले सुदूरपश्चिम प्रदेशको विकास र पूर्वाधार निर्माणलाई प्राथमिकतामा नराखेको आरोप लगाएका छन्। बजेट विनियोजनमा क्षेत्रगत सन्तुलन कायम हुन नसकेको भन्दै उनले सरकारको नीति र कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै भट्टले सुदूरपश्चिम प्रदेशका लागि छुट्याइएको बजेट आवश्यकताअनुसार नभएको दाबी गरे। उनले प्रदेशका रणनीतिक, आर्थिक तथा पर्यटकीय सम्भावनालाई सरकारले पर्याप्त महत्व नदिएको आरोप लगाए।

भट्टले गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय स्तरको व्यापारिक नाकाका रूपमा विकास गर्ने विषयमा विगतमा भएको सहमतिलाई सरकारले कार्यान्वयन नगरेको बताए। उक्त नाका स्तरोन्नति हुन नसके सुदूरपश्चिमको व्यापार तथा आर्थिक गतिविधिमा दीर्घकालीन असर पर्न सक्ने उनको भनाइ थियो।

सुदूरपश्चिमका प्रमुख पर्यटकीय गन्तव्य खप्तड, रामारोशन, बडिमालिका र खानीडाँडाजस्ता क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि बजेटमा पर्याप्त व्यवस्था नभएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए। यस्तै, हुलाकी राजमार्ग अन्तर्गतका सडक तथा पुलहरू लामो समयदेखि मर्मत अभावमा जीर्ण बन्दै गएको उल्लेख गर्दै आवश्यक लगानीको माग गरे।

सरकारको कार्यशैलीमाथि टिप्पणी गर्दै भट्टले नयाँ राजनीतिक शक्तिहरूले विगतका योगदानलाई अस्वीकार गर्ने प्रवृत्ति देखाएको आरोप लगाए। उनले वर्तमान लोकतान्त्रिक व्यवस्था र राज्य संरचना निर्माणमा अघिल्ला पुस्ताको योगदान रहेको स्मरण गराउँदै विगतलाई निरन्तर दोषारोपण गर्नु उपयुक्त नहुने बताए।

सम्पत्ति शुद्धीकरण तथा अनुसन्धानका विषयमा पनि उनले कानुन सबै नागरिकका लागि समान रूपमा लागू हुनुपर्ने धारणा राखे। कानुनी शासनमा नयाँ र पुरानो राजनीतिक शक्तिबीच भेदभाव हुन नहुने उनको भनाइ थियो।

सांसद भट्टले संविधान, विधि र लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्दै विकास र बजेट वितरणमा समानताको सिद्धान्त अवलम्बन गर्न सरकारलाई आग्रह गरे।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट