रास्वपाको महाधिवेशनमा आजदेखि बन्दसत्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुँदै
चितवन । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्रका कार्यक्रम सुरु हुँदैछन्। आइतबार उद्घाटन सत्र सम्पन्न गरेको रास्वपाले आजदेखि पार्टीको भावी दिशा, संगठनात्मक संरचना तथा नेतृत्व चयनसँग सम्बन्धित महत्वपूर्ण एजेण्डामाथि छलफल गर्ने भएको हो।
बन्दसत्र चितवनस्थित उद्योग संघको प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ। बन्दसत्रमा केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रतिवेदन, राजनीतिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिने कार्यसूची रहेको छ।
महाधिवेशनको सुरुवातमा अनुशासन आयोगका संयोजक रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यसपछि कोषाध्यक्ष लीमा अधिकारीले वित्तीय प्रतिवेदन, महामन्त्री कबिन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन, सहमहामन्त्री विपिनकुमार आचार्यले विधान संशोधन प्रतिवेदन तथा उपसभापति डा. स्वर्णिम वाग्लेले अर्थ–राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम तय गरिएको छ।
बन्दसत्रको अन्त्यमा सभापति रवि लामिछाने ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रस्तुत प्रतिवेदनहरूमाथि छलफल गरी पारित भएपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइनेछ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसी का अनुसार आज दिउँसो १ बजेदेखि औपचारिक निर्वाचन कार्यक्रम सुरु गरिने तयारी गरिएको छ।
पार्टीले नयाँ नेतृत्व चयनसहित महाधिवेशनलाई मंगलबार सम्पन्न गर्ने लक्ष्य लिएको छ। पहिलो महाधिवेशनमार्फत रास्वपाले आफ्नो संगठनात्मक संरचना थप सुदृढ बनाउने र आगामी राजनीतिक रणनीति तय गर्ने अपेक्षा गरिएको छ।

क्याटेगोरी : राजनीति













प्रतिक्रिया