Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

रास्वपा महाधिवेशन : नेतृत्व चयन प्रक्रिया, अब के–के हुँदैछ?


चितवन, असार ८ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन सत्रपछि  बन्दसत्र तथा नयाँ नेतृत्व चयनको प्रक्रियामा प्रवेश गर्दैछ। आइतबार उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गरेका थिए।

महाधिवेशनमार्फत १५१ सदस्यीय केन्द्रीय समिति चयन गरिनेछ, जसमध्ये ५० जना सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। महाधिवेशनका आगामी मुख्य गतिविधिहरू यस्ता छन्:

१. प्रतिनिधिको अन्तिम सूची सोमबार बिहान सार्वजनिक

आइतबार बिहान ९ बजेदेखि सुरु भएको प्रतिनिधिको नामावलीमाथिको दाबी–विरोध तथा त्रुटि सच्याउने समय सोमबार बिहान ९ बजे सकिनेछ। त्यसपछि बिहान १० बजे प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ।

२. केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता

केन्द्रीय सदस्य पदका आकांक्षीहरूले सोमबार उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्नेछ। उम्मेदवारविरुद्ध दाबी–विरोध र उम्मेदवारी फिर्ताका लागि समय छुट्याइनेछ।

३. उम्मेदवारको अन्तिम सूची प्रकाशन

दाबी–विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया सम्पन्न भएपछि केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको अन्तिम नामावली सोमबार नै सार्वजनिक गरिनेछ।

४. विद्युतीय माध्यमबाट मतदान

महाधिवेशनमा सहभागी करिब ४ हजार प्रतिनिधिले मतदान गर्नेछन्। प्रवासमा रहेका प्रतिनिधिले मोबाइल एपमार्फत र चितवनमा उपस्थित प्रतिनिधिले इलेक्ट्रोनिक भोटिङ मेसिनमार्फत मतदान गर्ने व्यवस्था गरिएको छ।

५. सभापति र ९९ केन्द्रीय सदस्यका लागि मतदान

सबैभन्दा पहिले पार्टी सभापति र ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान हुनेछ। सभापति पदमा रवि लामिछाने एकल उम्मेदवार रहने सम्भावना बलियो रहेकाले उनी निर्विरोध निर्वाचित हुन सक्ने अनुमान गरिएको छ।

६. निर्वाचित सदस्यबाट पदाधिकारी चयन

निर्वाचित ९९ केन्द्रीय सदस्यमध्येबाट सभापतिबाहेक अन्य पदाधिकारी पदका लागि उम्मेदवारी दिन पाइनेछ। प्रस्तावित विधानअनुसार प्रत्येक प्रदेशबाट कम्तीमा दुई महिलासहित पाँच जनाले पदाधिकारी पदमा उम्मेदवारी दिन सक्ने व्यवस्था गरिएको छ। विधान संशोधन भएमा यो व्यवस्था परिवर्तन हुन सक्नेछ।

७. १५१ सदस्यीय केन्द्रीय समिति गठन

निर्वाचनबाट चयन भएका सदस्य र सभापतिले मनोनयन गर्ने सदस्यसहित रास्वपाको १५१ सदस्यीय केन्द्रीय समिति गठन हुनेछ। प्रस्तावित व्यवस्थाअनुसार सभापतिले ५० जना केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार पाउनेछन्। यद्यपि पदाधिकारी चयनका लागि हुने मतदानमा मनोनित सदस्यहरूले मतदान गर्न पाउने छैनन्।

रास्वपाले मंगलबारसम्म नयाँ नेतृत्व चयन गरी प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट