Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

रास्वपा बन्द सत्रमा ४ वटा प्रतिवेदन पेश हुने, क-कसले गर्छन्?


चितवन, असार ८ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्रका कार्यक्रम सुरु हुँदैछन्। आइतबार भव्य उद्घाटन सत्र सम्पन्न गरेको रास्वपाले दोस्रो दिन पार्टीको भावी नीति, संगठनात्मक संरचना तथा नेतृत्व चयन प्रक्रियालाई केन्द्रमा राखेर छलफल गर्ने भएको हो।

चितवन प्रदर्शनी केन्द्रमा बिहान साढे ८ बजेदेखि सुरु हुने बन्दसत्रको सञ्चालन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम छ।

कार्यतालिकाअनुसार बन्दसत्रको प्रारम्भमा केन्द्रीय अनुशासन विभागका प्रमुख रमाकान्त रिमालले अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यसपछि बिहान ९ बजेदेखि साढे ९ बजेसम्म केन्द्रीय कोषाध्यक्ष लीमा अधिकारीले आर्थिक प्रतिवेदन पेश गर्नेछिन्।

आर्थिक प्रतिवेदनमाथिको कार्यक्रमपछि साढे ९ बजेदेखि आधा घण्टाको चिया विश्राम राखिएको छ। त्यसपश्चात् महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्। उक्त प्रतिवेदनमाथि बिहान १०:४५ बजेसम्म छलफल हुने तालिका रहेको छ।

महाधिवेशनको महत्वपूर्ण एजेण्डाका रूपमा रहेको विधान संशोधन प्रस्तावमाथि १०:४५ बजेदेखि ११:४५ बजेसम्म छलफल गरी पारित गर्ने कार्यक्रम तय गरिएको छ। विधान पारित भएपछि पार्टीको भावी संगठनात्मक संरचना र नेतृत्व चयन प्रक्रियाले औपचारिक रूप लिने अपेक्षा गरिएको छ।

त्यसपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। उक्त प्रतिवेदनमाथि प्रतिनिधिहरूले ११:४५ बजेदेखि १२:४५ बजेसम्म छलफल गर्ने कार्यतालिका छ।

बन्दसत्रको अन्त्यमा अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गरिनेछ। साथै महाधिवेशन आयोजक समितिले निर्वाचनसम्बन्धी सम्पूर्ण जिम्मेवारी पार्टीको केन्द्रीय निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।

रास्वपाले यही महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै पार्टीको दीर्घकालीन राजनीतिक मार्गचित्र तय गर्ने लक्ष्य राखेको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट