Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

चितवनमा एउटै रिसोर्टमा बसे रवि र प्रधानमन्त्री बालेन


चितवन, असार ८ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन जारी रहँदा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) चितवनको एउटै रिसोर्टमा बसेको खुलेको छ।

भरतपुर महानगरपालिकाबाट करिब १८–१९ किलोमिटर टाढा रहेको लटौली सेन्चुरी रिसोर्टमा दुवै नेता परिवारसहित बसिरहेको स्रोतले जनाएको छ। सुरक्षा स्रोतका अनुसार महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएपछि पनि दुवै नेताबीच निरन्तर छलफल भइरहेको छ।

रिसोर्ट व्यवस्थापन पक्षका अनुसार केही दिनअघि मात्र सञ्चालनमा आएको उक्त रिसोर्टमा सीमित कोठा उपलब्ध छन्। महाधिवेशन अवधिभरका लागि केही कोठा अग्रिम बुकिङ गरिएको बताइएको छ। गृहमन्त्री सुदन गुरुङ पनि सोही रिसोर्टमा बसेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह पत्नी सबिना र छोरीसहित आइतबार बिहान चितवन पुगेका थिए। चितवन ओर्लिएलगत्तै उनी रिसोर्ट पुगेका थिए भने सभापति रवि लामिछाने शनिबार नै चितवन आइपुगेका थिए। उनले शनिबार दिउँसोदेखि साँझसम्म बसेको केन्द्रीय समिति बैठकमार्फत संशोधित विधान अनुमोदन गराएका थिए।

महाधिवेशनको उद्घाटन समारोहमा पुग्दा सभापति लामिछाने र प्रधानमन्त्री शाह एउटै सवारी साधनमा पुगेका थिए। प्रधानमन्त्री शाहले स्वयं सवारी चलाएर उद्घाटनस्थल पुगेको दृश्यले समेत सहभागीहरूको ध्यान आकर्षित गरेको थियो।

महाधिवेशन अन्तर्गत सोमबार बन्दसत्रमा सभापति, महामन्त्री तथा कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमाथि छलफल भइरहेको छ। ती प्रतिवेदन पारित भएपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्ने कार्यतालिका छ।

पार्टीभित्र सभापति पदमा रवि लामिछाने तथा वरिष्ठ नेता पदमा प्रधानमन्त्री बालेन्द्र शाह सर्वसम्मत चयन हुने सम्भावना बलियो देखिएको छ। तर केन्द्रीय समिति सदस्य पदका लागि आकांक्षीहरूको संख्या बढी भएकाले निर्वाचन हुन सक्ने अवस्था रहेको महाधिवेशन स्रोतले जनाएको छ।

मन्त्री, सांसद तथा प्रतिनिधिहरूबाट समेत केन्द्रीय सदस्यमा दाबी प्रस्तुत भएपछि नेतृत्व चयनको प्रतिस्पर्धा केन्द्रीय समितिमा केन्द्रित हुने देखिएको छ। रास्वपाले मंगलबारसम्म नयाँ नेतृत्व चयन गरी प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने लक्ष्य लिएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट