मधेस प्रदेश र १३ जिल्लामा रास्वपाको अधिवेशन गर्न बाँकी
काठमाडौँ, असार ८ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटनसँगै देशभरको संगठनात्मक अवस्थाबारे जानकारी गराउँदै ६ प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको जनाएको छ।
महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले मधेस प्रदेश तथा १३ जिल्लाबाहेक अधिकांश स्थानमा अधिवेशन सम्पन्न भएको जानकारी दिए।
उनका अनुसार अधिवेशन हुन बाँकी रहेका मधेस प्रदेश र १३ जिल्लाबाट समेत महाधिवेशनमा प्रतिनिधित्व सुनिश्चित गरिएको छ। ती क्षेत्रका प्रतिनिधिहरूलाई महाधिवेशनमा सहभागी गराउने विशेष व्यवस्था मिलाइएको उनले बताए।
महामन्त्री बुर्लाकोटीले देशभरका ६०९ स्थानीय तहमा पार्टीका तदर्थ समिति गठन भई अधिवेशन सम्पन्न भइसकेको जानकारी दिँदै संगठन विस्तारको अभियान तीव्र रूपमा अघि बढिरहेको बताए।
उनले बाँकी रहेका प्रदेश, जिल्ला तथा स्थानीय तहमा पनि क्रमशः अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको उल्लेख गरे।
रास्वपाले पहिलो राष्ट्रिय महाधिवेशनमार्फत संगठनलाई थप सुदृढ बनाउने, नेतृत्व चयन गर्ने तथा आगामी राजनीतिक कार्यदिशा तय गर्ने लक्ष्य लिएको जनाएको छ। चितवनमा जारी महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरू सहभागी छन्।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया