Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

गृहमन्त्री सुधन गुरुङविरुद्ध मानव अधिकार आयोगमा उजुरी


काठमाडौं, असार ८  गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिएको छ। प्रहरी हिरासतमा रहेका व्यक्तिहरूमाथि मानसिक दबाब र धम्की दिएको आरोप लगाउँदै आयोगमा निवेदन पेश गरिएको हो।

अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले सोमबार आयोगको केन्द्रीय कार्यालय, पुल्चोक पुगेर उजुरी दर्ता गराएका छन्। उनीहरूले आफूहरूमाथि राज्यको जिम्मेवार पदमा रहेका व्यक्तिबाट मानव अधिकार उल्लंघन भएको दाबी गरेका छन्।उजुरीकर्ताहरूका अनुसार गत जेठ १९ गते कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्बन्धी विषयमा भारतीय दूतावासअगाडि शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउपछि उनीहरूलाई सोह्रखुट्टे प्रहरी वृत्तमा राखिएको थियो।

निवेदनमा उल्लेख गरिएअनुसार हिरासतमा राखिएको केही समयपछि गृहमन्त्री गुरुङको नेतृत्वमा आएको टोली हिरासत कक्षभित्र प्रवेश गरी मानसिक दबाब दिने तथा ज्यानसम्बन्धी धम्कीपूर्ण व्यवहार गरेको आरोप लगाइएको छ।उजुरीकर्ताहरूले घटनाको निष्पक्ष छानबिनका लागि राष्ट्रिय मानव अधिकार आयोगको विशेष टोलीले सोह्रखुट्टे प्रहरी वृत्त पुगेर सम्बन्धित व्यक्तिहरूको बयान लिनुपर्ने माग गरेका छन्। साथै घटनाको दिनको सीसीटीभी फुटेज, आगन्तुक अभिलेख तथा अन्य प्रमाण सुरक्षित राखी अनुसन्धान गर्नुपर्ने माग पनि गरिएको छ।

यता, उजुरीमा लगाइएका आरोपबारे गृहमन्त्री गुरुङ वा गृह मन्त्रालयको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।राष्ट्रिय मानव अधिकार आयोगले निवेदन दर्ता गरेसँगै घटनाबारे आवश्यक अध्ययन तथा छानबिन प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट