दक्षिण कोरियाबाट फर्किएका तीन युवा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवार
चितवन, असार ८ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका क्रममा दक्षिण कोरियाबाट फर्किएका तीन युवाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
रास्वपा गठन हुनुअघि नै पार्टी सभापति रवि लामिछानेसँग निकट रहेर विभिन्न गतिविधिमा संलग्न रहेका यदु कुमार गिरी, प्रदीप तिमल्सेना (साजन) र यम श्रेष्ठले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने तयारी गरेका हुन्। हाल यदु कुमार गिरी पार्टीको श्रम तथा उपभोक्ता हित विभागमा आबद्ध छन् भने प्रदीप तिमल्सेना (साजन) सम्पर्क विभागका समन्वय प्रमुखका रूपमा कार्यरत छन्। यम श्रेष्ठ भने पार्टीको प्रवास विभाग सदस्य रहेका छन्।
रास्वपाले पहिलो राष्ट्रिय महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाइरहेको छ। महाधिवेशनको दोस्रो दिन सोमबार बन्दसत्र तथा उम्मेदवारी मनोनयन दर्ताको कार्यसूची तय गरिएको छ।चितवनको भरतपुरमा जारी महाधिवेशनमा देश तथा विदेशबाट आएका प्रतिनिधिहरू सहभागी छन्। पार्टीको केन्द्रीय समितिमा स्थान बनाउन विभिन्न क्षेत्र र पृष्ठभूमिबाट आएका आकांक्षीहरूले उम्मेदवारी घोषणा गरिरहेका छन्।
प्रवासी नेपाली समुदायबाट अनुभव हासिल गरी स्वदेश फर्किएका युवाहरूको उम्मेदवारीलाई पनि महाधिवेशनमा चासोका साथ हेरिएको छ। उनीहरूले पार्टी संगठन सुदृढीकरण, श्रमिक अधिकार, प्रवासी नेपालीका मुद्दा तथा सुशासनका विषयलाई प्राथमिकतामा राखेर नेतृत्वमा पुग्ने लक्ष्य लिएको बताएका छन्।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया