सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
चितवन, असार ८ सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सेवाग्राहीलाई केन्द्रमा राखेर छिटो, प्रभावकारी र जिम्मेवार ढंगले सेवा प्रवाह गर्न नेपाल टेलिकमका कर्मचारीहरूलाई निर्देशन दिएका छन्।
सोमबार नेपाल टेलिकम भरतपुर कार्यालयको निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले सरकारी सेवाप्रति नागरिकको बढ्दो अपेक्षालाई ध्यानमा राख्दै सेवाग्राहीमैत्री कार्यशैली अपनाउन आग्रह गरेका हुन्।उनले विगतमा सरकारी कार्यालयबाट सेवा लिन जाँदा सेवाग्राहीले अनेकौं सास्ती बेहोर्नुपरेको गुनासो आउने गरेको स्मरण गराउँदै अहिलेको समयमा त्यस्तो अवस्था स्वीकार्य नहुने बताए।
“१० वर्षअघिको अवस्था र अहिलेको अवस्था फरक छ। पहिले एउटा सेवा लिनका लागि मानिस पाँच दिनसम्म कुर्न तयार हुन्थ्यो भने अहिले एक दिन पनि पर्खन चाहँदैन। फोन गरेपछि तत्काल सेवा पाउन चाहन्छ। त्यसैले सेवाग्राहीको अपेक्षाअनुसार काम गर्नुपर्छ,” मन्त्री तिमिल्सिनाले भने।उनले नेपाल टेलिकमजस्ता सार्वजनिक संस्थानहरू नागरिकले तिरेको शुल्कबाट सञ्चालन हुने भएकाले कर्मचारीहरूको सबैभन्दा ठूलो जवाफदेहिता सेवाग्राहीप्रति हुनुपर्नेमा जोड दिए।
“सेवाग्राहीले तिरेको पैसाले कार्यालय सञ्चालन भइरहेका छन्। त्यसैले सेवाग्राही सन्तुष्ट हुने गरी सेवा प्रवाह गर्नु आवश्यक छ,” उनले भने।
निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले कार्यालयको भौतिक अवस्था, सेवा प्रवाहको प्रभावकारिता तथा व्यवस्थापनका विषयमा समेत चासो व्यक्त गरेका थिए। उनले कार्यालयको भवन व्यवस्थापन, आवश्यक पूर्वाधार तथा सेवा विस्तारका विषयमा कर्मचारीहरूसँग छलफल गरेका थिए।कार्यक्रममा नेपाल टेलिकम भरतपुर कार्यालयका प्रमुख राकेश चौधरीसहितका कर्मचारीहरूले संस्थाको पुनःसंरचना, कर्मचारीको वृत्तिविकास, आवश्यक उपकरणको अभाव तथा अन्य व्यवस्थापकीय समस्याबारे मन्त्रीसमक्ष ध्यानाकर्षण गराएका थिए।
मन्त्री तिमिल्सिनाले उठाइएका विषयमा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै दूरसञ्चार क्षेत्रलाई अझ प्रभावकारी, प्रविधिमैत्री र सेवाग्राहीमुखी बनाउन सरकार प्रतिबद्ध रहेको बताए।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया