Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

शिक्षामन्त्री सस्मित पोखरेलले दिए रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी


चितवन, असार ८  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

चितवनमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने प्रक्रिया चलिरहेका बेला मन्त्री पोखरेलले केन्द्रीय सदस्य पदका लागि आफ्नो दाबी प्रस्तुत गरेका हुन्।उम्मेदवारी घोषणा गर्दै पोखरेलले पार्टीको सिद्धान्त, मूल्य, मान्यता र अभियानलाई थप सशक्त बनाउन आफूले इमानदारीपूर्वक योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत महाधिवेशन प्रतिनिधिहरूसँग समर्थन माग्दै उनले पार्टीलाई संस्थागत र प्रभावकारी बनाउन आफ्नो भूमिका रहने बताएका छन्।

“पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन इमानदारीपूर्वक योगदान गर्ने प्रतिबद्धतासहित यहाँहरूको विश्वास र समर्थनको अपेक्षा गर्दछु,” पोखरेलले लेखेका छन्।रास्वपाको पहिलो महाधिवेशन अन्तर्गत केन्द्रीय समिति चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया जारी छ। महाधिवेशनबाट सभापति, पदाधिकारी तथा केन्द्रीय समिति चयन गरिनेछ।

पार्टीका मन्त्री, सांसद तथा विभिन्न तहका नेताहरूले समेत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिइरहेका छन्। यसपटक केन्द्रीय समितिमा स्थान सुरक्षित गर्न आकांक्षीहरूको संख्या उल्लेख्य रहेको बताइएको छ।रास्वपाले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँगै आगामी राजनीतिक कार्यदिशा र संगठनात्मक संरचनालाई थप मजबुत बनाउने लक्ष्य लिएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट