चुनावी धक्का र सरकारी दबाबको परिणाम: इगो त्याग्दै एउटै मञ्चमा ओली र प्रचण्ड
काठमाडौं। नेपाली राजनीतिमा फरक–फरक राजनीतिक र वैचारिक धारमा अघि बढिरहेका प्रमुख कम्युनिष्ट नेताहरू आज जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा एकै मञ्चमा उभिने भएका छन्।
मदन भण्डारी फाउन्डेसनले काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजना गरेको ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय विचार गोष्ठी तथा पुरस्कार वितरण समारोहमा प्रमुख कम्युनिष्ट दलका शीर्ष नेताहरू सहभागी हुन लागेका हुन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम छ।
पछिल्लो राजनीतिक घटनाक्रम, हालै सम्पन्न निर्वाचनको परिणाम र कमजोर बन्दै गएको कम्युनिष्ट आन्दोलनका बीच हुन लागेको यो जमघटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी, पूर्वराष्ट्रपति भण्डारी पुनः सक्रिय राजनीतिमा फर्किने चर्चाका बीच उनको सहभागिताले पनि कार्यक्रमलाई थप चासोको विषय बनाएको छ।
गत निर्वाचनमा वाम शक्तिहरूले अपेक्षाअनुसारको नतिजा हासिल गर्न नसकेपछि विभिन्न कम्युनिष्ट दलभित्र सहकार्य र एकताको बहसले नयाँ गति लिएको छ। चुनावमा अलग–अलग प्रतिस्पर्धा गर्दा वाम मत विभाजित भएको निष्कर्ष नेताहरूले सार्वजनिक रूपमा व्यक्त गर्दै आएका छन्।
यसैबीच, प्रमुख वाम दलहरूले संसद् र सडक दुवै मोर्चामा साझा मुद्दामा सहकार्य गर्ने सम्भावनाबारे आन्तरिक छलफललाई तीव्र बनाएका छन्। आगामी स्थानीय र प्रदेश तहको निर्वाचनलाई लक्षित गर्दै वाम सहकार्यको सम्भावनाबारे नेताहरूले सकारात्मक संकेत दिइरहेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार शक्ति सन्तुलनमा आएको परिवर्तन र कार्यकर्ताबाट बढ्दो दबाबका कारण वाम शक्तिहरूबीच पुनः सहकार्यको वातावरण बन्न थालेको छ। उनीहरूका अनुसार मदन भण्डारीको जन्मजयन्तीका अवसरमा हुने यो साझा उपस्थिति त्यसैको प्रारम्भिक संकेतका रूपमा लिन सकिन्छ।
यद्यपि, औपचारिक रूपमा कुनै नयाँ राजनीतिक समीकरण वा एकताको घोषणा नभए पनि आजको मञ्चले वाम राजनीतिमा नयाँ बहस र सम्भावनालाई थप बल दिने अपेक्षा गरिएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया