Techie IT
KTM Post
मंगलबार, १६ असार, २०८३

रास्वपा महाधिवेशनः चितवनका नेता खुसी


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएसँगै चितवनका स्थानीय नेता तथा कार्यकर्ताले यसलाई जिल्लाको प्रतिष्ठा र पार्टीको संगठनात्मक विकासका लागि ऐतिहासिक अवसरका रूपमा व्याख्या गरेका छन्।

भरतपुरमा आयोजित महाधिवेशनले चितवनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप चिनाउन मद्दत पुगेको उनीहरूको भनाइ छ। पार्टीको उर्वरभूमिका रूपमा चिनिने चितवनमा महाधिवेशन आयोजना गर्ने निर्णयप्रति उनीहरूले पार्टी नेतृत्वप्रति आभार व्यक्त गरेका छन्।महाधिवेशन व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेका नेताहरूले प्रतिकूल मौसम र प्राविधिक चुनौतीका बाबजुद आवास, खानपान तथा अन्य व्यवस्थापनमा कुनै उल्लेखनीय समस्या आउन नदिएको दाबी गरेका छन्। उनीहरूका अनुसार देशभरबाट आएका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको उपस्थितिले जिल्लाको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव परेको छ।

आवास तथा खानपान व्यवस्थापन संयोजक राजन गौतमले रास्वपाको पहिलो महाधिवेशन चितवनमा आयोजना हुनु जिल्लाका लागि गौरवको विषय भएको बताए। उनका अनुसार महाधिवेशनका कारण स्थानीय व्यवसाय, होटल तथा पर्यटन क्षेत्रले समेत प्रत्यक्ष लाभ लिएका छन्।

गौतमले व्यवस्थापनको जिम्मेवारीका कारण आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन नसकेको उल्लेख गर्दै महाधिवेशन सफल बनाउनु नै आफ्नो प्राथमिकता रहेको बताए। उनले व्यक्तिगत आकांक्षाभन्दा पार्टीको ऐतिहासिक कार्यक्रमलाई सफल बनाउनु महत्वपूर्ण भएको धारणा राखे।यस्तै, जिल्ला सभापति मिनीमाधव खनालले केन्द्र र जिल्लास्तरका टोलीहरूको निरन्तर मेहनतले महाधिवेशन सफल भएको बताए। उनका अनुसार चितवनले नयाँ नेतृत्व र नीति निर्माण प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, जसले जिल्लावासीलाई गौरवान्वित बनाएको छ।

उनले देशभरबाट आएका प्रतिनिधिहरूले चितवनको राजनीतिक अवस्था, पर्यापर्यटन र स्थानीय सम्भावनाबारे जानकारी लिन पाएको उल्लेख गर्दै सम्पूर्ण सहयोगीप्रति धन्यवाद व्यक्त गरे।

जिल्ला सचिव तेजेन्द्र पौडेलले केन्द्रीय पदाधिकारीमा चितवनका तीनवटै निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व सुनिश्चित हुनु जिल्लाका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनले महाधिवेशनपछि रास्वपा संगठनात्मक रूपमा अझ मजबुत, परिपक्व र सक्रिय बनेको दाबी गरे।

चितवनमा सम्पन्न पहिलो राष्ट्रिय महाधिवेशनले पार्टीभित्र नयाँ नेतृत्व चयनसँगै नीतिगत दिशासमेत तय गरेको छ। स्थानीय नेतृत्वले यसलाई रास्वपाको आगामी राजनीतिक यात्राको महत्वपूर्ण आधारका रूपमा व्याख्या गरेका छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट