अमेरिकी विशेष दूत र रवि लामिछानेबीच भेट : आर्थिक सहकार्य विस्तारमा जोड
काठमाडौं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियाे गाेर र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शनिबार भेटवार्ता भएको छ ।
भेटमा नेपाल र अमेरिका बीच आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ । विशेषगरी द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ बनाउने विषयमा केन्द्रित भएर कुराकानी भएको दूत गोरले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
उनले नेपालको नयाँ सरकारप्रति सकारात्मक संकेत गर्दै सुधारका एजेन्डा आशालाग्दा रहेको उल्लेख गरेका छन् । ‘नेपालको नयाँ सरकारसँग परिवर्तनका लागि अविश्वसनीय जनादेश छ, र उनीहरूले घोषणा गरेका सुधारहरू निकै आशालाग्दा छन् । हामी आगामी दिनमा निकट रहेर काम गर्न तत्पर छौँ ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
काठमाडौं भ्रमणका क्रममा गोरले अर्थमन्त्री स्वर्णिम वाग्ले परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । बिहीबार साँझ काठमाडौं आएका उनले नेपाल–अमेरिका सम्बन्ध थप मजबुत बनाउने विषयमा उच्चस्तरीय छलफल अघि बढाएका हुन् ।
यस भेटलाई दुई देशबीचको आर्थिक सहकार्य, कूटनीतिक सम्बन्ध र विकास साझेदारी विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ ।
क्याटेगोरी : राजनीति










प्रतिक्रिया