Techie IT
KTM Post
बुधबार, ३० वैशाख, २०८३

नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री शाहले जवाफ नदिने, अर्थमन्त्री वाग्लेले गर्ने सम्बोधन


काठमाडौं । सरकारले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन्द्र शाह ले नदिने भएका छन्। बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने तयारी गरिएको छ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो ११ बजेका लागि बोलाइएको छ। प्रारम्भिक कार्यसूचीअनुसार नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने तयारी थियो। तर अन्तिम समयमा प्रधानमन्त्रीले जवाफ दिने जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिएको बताइएको छ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। सो क्रममा प्रधानमन्त्री शाह सदन चलिरहेकै बेला बाहिरिएको विषयले राजनीतिक वृत्तमा चर्चा पाएको थियो। विपक्षी दलका नेताहरूले मात्र होइन, सामाजिक सञ्जालमा सर्वसाधारणले समेत प्रधानमन्त्रीको व्यवहारप्रति आलोचना गरेका थिए।

यद्यपि प्रधानमन्त्री शाह वा उनको सचिवालयले संसद् बैठक बीचमै किन बाहिरिएको भन्ने विषयमा हालसम्म कुनै औपचारिक स्पष्टीकरण दिएका छैनन्।

नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रतिपक्षी दलहरूले सरकारले स्पष्ट लक्ष्य, कार्यान्वयन रणनीति र आर्थिक सुधारको ठोस खाका प्रस्तुत गर्न नसकेको आरोप लगाएका छन्। उनीहरूले नीति तथा कार्यक्रमलाई महत्वाकांक्षी घोषणामा सीमित रहेको टिप्पणी गरेका थिए।

प्रधानमन्त्री स्वयं संसद्‌मा अनुपस्थित रहने र नीति तथा कार्यक्रमको प्रतिरक्षा अर्थमन्त्रीमार्फत गराउने निर्णयलाई लिएर सत्ता पक्षभित्र र बाहिर दुवै क्षेत्रमा राजनीतिक अर्थ खोज्न थालिएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट