Techie IT
KTM Post
बुधबार, ३० वैशाख, २०८३

जसपा नेपाल र लोसपाबिचको एकतालाई निर्वाचन आयोगले दियो मान्यता


काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबिच भएको एकतालाई निर्वाचन आयोगले मान्यता दिएको छ ।

गत पुस २७ गते जसपा नेपाल र लोसपा नेपालबिच औपचारिक रूपमा एकता घोषणा भएको थियो । निर्वाचन आयोगलाई दुई पार्टीबिच एकता भएको जानकारी गराउँदै फागुन २१ सम्पन्न चुनावमा दुवै पार्टी एकीकृत रूपमा सहभागी भएका थिए ।

तर एकताका लागि बुझाएको कागजातमा केही नेता दुई वटा पार्टीमा रहेको देखिएको भन्दै त्यसलाई स्पष्ट गर्न तथा अन्य अपुग कागजात निर्वाचन आयोगले जसपा नेपालसँग माग गरेको थियो ।

यसअघि भएको एकता प्रक्रियामा हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी पनि सहभागी थिए, तर अहिले निर्वाचन आयोगले दिएको मान्यतामा उनीहरूको पार्टी समावेश छैन ।

निर्वाचन आयोगमा जनता प्रगतिशील पार्टी पनि अस्तित्वमा रहेको कारण एउटै व्यक्ति दुई ठाउँमा रहन नसक्ने भएकाले अहिलेको एकता प्रक्रियामा त्यो पार्टीलाई समावेश नगराएको जनाइएको छ ।

एकता प्रक्रिया टुङ्गो लागेसँगै जसपा नेपालको कार्यान्वयन समिति ५४ सदस्यीय भएको छ । त्यसमा संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादव छन् भने बाँकी सबै जना सदस्य छन् ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट