Techie IT
KTM Post
बिहीबार, ३१ वैशाख, २०८३

पुस्पकमल दाहाल नयाँ निवासमा सरेपछि फेरि चर्चामा ठेकेदार शारदा अधिकारी


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा पुस्पकमल दाहाल र उनका परिवारसँग लामो समयदेखि निकट सम्बन्ध रहेको बताइने ठेकेदार शारदा अधिकारी पुनः चर्चामा आएका छन् । प्रचण्ड परिवार हाल ललितपुरको मानभवनस्थित शारदा अधिकारीको कर्पोरेट हाउसमा बसाइँ सरेको चर्चा राजनीतिक तथा व्यावसायिक वृत्तमा चुलिएको छ।

मानभवनस्थित उक्त भवन सात तलाको रहेको र आधुनिक लिफ्टसहित निर्माण गरिएको बताइन्छ । व्यावसायिक प्रयोजनका लागि प्रयोग गरिने हो भने मासिक करिब २० लाख रुपैयाँसम्म भाडा उठ्न सक्ने अनुमान गरिए पनि प्रचण्ड परिवारले कति भाडा तिरेका छन् भन्ने विषय सार्वजनिक गरिएको छैन । यसबारे प्रचण्ड सचिवालय वा शारदा अधिकारी पक्षबाट कुनै औपचारिक प्रतिक्रिया आएको छैन ।

यसअघि पनि खुमलटारस्थित शारदा अधिकारीकै घरमा प्रचण्ड परिवार बस्दै आएको थियो । सो घर गत वर्षको ‘जेनजी आन्दोलन’ का क्रममा आगजनीमा परेको थियो । त्यसपछि प्रचण्ड परिवार नयाँ स्थानमा सरेको चर्चा सुरु भएको हो ।

नुवाकोटका व्यवसायी शारदा अधिकारी निर्माण व्यवसाय क्षेत्रमा चर्चित ठेकेदार हुन । उनको शैलुङ कन्स्ट्रक्सनले देशभर विभिन्न पूर्वाधार आयोजनाका ठेक्का लिएको छ । तर, समयमै काम सम्पन्न नगरेको, गुणस्तर विवादमा परेको तथा सरकारी निकायबाट कारबाही भोगेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा शैलुङ कन्स्ट्रक्सनका धेरै ठेक्का कालोसूचीमा परेको तथ्य यसअघि सार्वजनिक भइसकेको छ ।

प्रमुख राजनीतिक नेतासँग निकट सम्बन्ध भएका व्यवसायीमार्फत उपलब्ध गराइने सुविधा, आवास र व्यावसायिक पहुँचबारे नेपालमा पटकपटक प्रश्न उठ्दै आएका छन् । प्रचण्ड परिवारको नयाँ बसोबासले पनि राजनीतिक शक्ति र व्यावसायिक स्वार्थबीचको सम्बन्धबारे फेरि बहस सुरु गराएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट