आन्तरिक विवाद उत्कर्षमा पुगेकै बेला नेपाली कांग्रेस अनुशासन समितिको बैठक आज बस्दै
काठमाडौं। पार्टीभित्र संस्थापन र इतर समूहबीचको आन्तरिक विवाद निकै चुलिएका बेला नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको महत्त्वपूर्ण बैठक आज बस्ने भएको छ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवनमा दिउँसो १स्०० बजेका लागि बैठक बोलाइएको हो। पार्टीभित्र पछिल्लो समय गुटगत असन्तुष्टि, अनुशासनहीनता र नेतृत्वप्रति सार्वजनिक रूपमै आलोचना गर्ने क्रम बढेपछि बस्न लागेको यस बैठकलाई निकै चासोका साथ हेरिएको छ।
मुख्यगरी विभिन्न तहका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध अन्तर्घात गरेको भन्दै दर्ता भएका पुराना उजुरीहरू र पछिल्लो समय विभिन्न नेताहरूले अनुशासन उल्लंघन गरेको भन्दै परेका नयाँ उजुरीहरूमाथि बैठकमा गहन छलफल हुने स्रोतले जनाएको छ।
पार्टीको आन्तरिक अनुशासन कायम राख्ने, प्राप्त उजुरीहरूको छानबिन गरी आवश्यक कारबाही अघि बढाउने तथा समितिको भावी कार्ययोजना तय गर्ने मुख्य कार्यसूची रहेको छ। बैठकमा देशैभरबाट प्राप्त उजुरीहरूको वर्गीकरण गरी कारबाहीको प्रक्रियालाई कसरी अगाडि बढाउने भन्नेबारे मुख्य छलफल हुनेछ।
कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन र गुटगत विवादका कारण अनुशासन समितिको भूमिका सधैँ चुनौतीपूर्ण बन्दै आएको छ। एक समूहले अर्को समूहका नेता–कार्यकर्तालाई राजनीतिक प्रतिशोध साध्न अनुशासनको हतियार प्रयोग गर्न खोजेको आरोप लागिरहँदा समितिका सबै सदस्यहरूलाई अनिवार्य रूपमा निर्देशानुसार उपस्थित हुन अनुरोध गरिएको छ।
आजको बैठकले गर्ने निर्णय र चाल्ने कदमले कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक विवादलाई मत्थर पार्न सहयोग पुर्याउँछ या विवाद थप बल्झाउँछ भन्ने कुरा समितिको भावी रणनीति र कारबाहीको प्रकृतिमा निर्भर हुने देखिन्छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया