अध्ययन बिदा दुरुपयोग प्रकरण : १० करोड ४६ लाख रुपैयाँ फिर्ता, अझै असुली प्रक्रिया जारी
काठमाडौं । अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकहरूबाट हालसम्म १० करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता भएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मन्त्रालयको पहल र त्रिभुवन विश्वविद्यालयको सक्रियतामा उक्त रकम असुली भएको बताएका छन्। उनका अनुसार अझै केही प्राध्यापकहरू रकम फिर्ता गर्ने प्रक्रियामा रहेका छन्।
मन्त्री पोखरेलले अध्ययन बिदा विश्वविद्यालयलाई दक्ष र अनुसन्धानमुखी जनशक्ति उत्पादन गर्ने अवसर भए पनि त्यसको दुरुपयोग गरी सेवामा नफर्किने प्रवृत्तिले आर्थिक, शैक्षिक र नैतिक क्षति पुर्याएको उल्लेख गरे।
उनका अनुसार मन्त्रालयले छानबिन तथा कानुनी प्रक्रिया अघि बढाएपछि असुली कार्य तीव्र बनेको हो। उनले यो उपलब्धि केवल रकम फिर्ताको विषय नभई उच्च शिक्षामा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन सुदृढ गर्ने दिशामा महत्वपूर्ण कदम भएको बताए।
मन्त्रालयले सार्वजनिक स्रोतको संरक्षण र उच्च शिक्षाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै आवश्यक सुधार अभियानलाई निरन्तरता दिने जनाएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया