सदन लामो समय स्थगित गर्नुको औचित्यमाथि खुस्बु ओलीको प्रश्न, सरकारसँग जवाफदेहिताको माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले प्रतिनिधिसभा बैठक लामो समयसम्म स्थगित गरिएको विषयमा असन्तुष्टि व्यक्त गर्दै सरकारको नियतमाथि प्रश्न उठाएकी छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ओलीले सदनको गतिरोध अन्त्य गर्न संवादको वातावरण बनाउने, राजनीतिक सहमति खोज्ने तथा संसदलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्य नै नभएको भए अधिवेशन यति लामो समयसम्म स्थगित गर्नुको वास्तविक औचित्य के थियो भन्ने प्रश्न गरेकी छन्।
उनले प्रतिनिधिसभा नियमावली पारित गर्ने क्रममा प्रतिपक्षी दलका आवाज मात्र नभई सत्तारूढ दलका सांसदहरूले दर्ता गरेका संशोधन प्रस्तावहरू समेत बेवास्ता गरिएको आरोप लगाइन्। यही कारणले सदन अवरुद्ध भएको उनको भनाइ छ।
ओलीले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिले थप गम्भीर प्रश्नहरू जन्माएको उल्लेख गर्दै प्रतिपक्षी दलहरूले राष्ट्रिय हित, संसदीय सार्वभौमिकता तथा जनप्रतिनिधिहरूको उत्तरदायित्व सुनिश्चित गर्न निरन्तर संवाद र जवाफदेहिताको माग गर्दै आएको बताएकी छन्।
उनले संसद सञ्चालनमा देखिएको अन्योल र राजनीतिक संवादको अभावप्रति चिन्ता व्यक्त गर्दै लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन सरकार जिम्मेवार बन्नुपर्ने धारणा राखेकी छन्।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया