Techie IT
KTM Post
शुक्रबार, १९ असार, २०८३

राजदूत छनोटमा भीड: १३ देशका लागि झन्डै ४ हजार आवेदन


काठमाडौँ । परराष्ट्र मन्त्रालयले खुला आवेदनमार्फत १३ देशका राजदूत नियुक्तिका लागि माग गरेको प्रक्रियामा झन्डै चार हजार आवेदन परेको छ।मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार करिब तीन हजार व्यक्तिबाट ती आवेदनहरू प्राप्त भएका हुन्। उनले एकै व्यक्तिबाट एकभन्दा बढी देशका लागि आवेदन दिने प्रवृत्ति समेत देखिएको बताए।

परराष्ट्र मन्त्रालयले अमेरिका, चीन, भारत, अस्ट्रेलिया, बेलायत, साउदी अरेबिया, बंगलादेश, इजरायल, ओमान, दक्षिण कोरिया, मलेसिया, बहराइन र अस्ट्रियाका लागि राजदूत नियुक्त गर्न आवेदन आह्वान गरेको थियो।आवेदन दिने अन्तिम मिति जेठ २२ गते बेलुकी ५ बजेसम्म तोकिएको थियो। सो अवधिमा केही व्यक्तिले १० वटासम्म देशका लागि आफूलाई योग्य दाबी गर्दै आवेदन दिएको पनि मन्त्रालयले जनाएको छ।

मन्त्रालयले प्राप्त आवेदन र सिफारिसहरूको आधारमा प्रारम्भिक सूची तयार गरी योग्यता र उपयुक्तताका आधारमा सर्टलिस्ट गर्नेछ। सर्टलिस्टमा परेका उम्मेदवारलाई मात्र थप प्रक्रियामा समावेश गरिनेछ।नेपालले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत छनोट प्रक्रिया अघि बढाएको हो। मन्त्रालयले राजदूतका लागि न्यूनतम १५ वटा योग्यता निर्धारण गरेको छ, जसमा नेपाली नागरिकता, स्नातक उपाधि, कूटनीतिक अनुभव, उच्च नैतिक चरित्र, विदेशी भाषा ज्ञान तथा कुनै आपराधिक दोष नहुनुपर्ने लगायतका मापदण्ड समावेश छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट