Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

अखिल (क्रान्तिकारी) को तेस्रो केन्द्रीय बैठक सम्पन्न, विद्यार्थी संगठनबीचको एकता प्रक्रियालाई तीव्रता दिने निर्णय


काठमाडौं । अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक विभिन्न नीतिगत तथा संगठनात्मक निर्णयहरू पारित गर्दै सम्पन्न भएको छ। बैठकले संगठन सुदृढीकरण, विद्यार्थी आन्दोलनलाई थप प्रभावकारी बनाउने तथा पार्टीभित्र क्रियाशील विद्यार्थी संगठनहरूबीचको एकता प्रक्रियालाई शीघ्र निष्कर्षमा पुर्‍याउने विषयलाई प्राथमिकतामा राखेको छ।

बैठकले विद्यार्थी संगठनहरूको एकता प्रक्रियालाई अब थप लम्ब्याउन नहुने निष्कर्ष निकाल्दै आवश्यक वार्ता, समन्वय र प्राविधिक तयारीलाई तीव्र गतिमा अघि बढाउने निर्णय गरेको जनाएको छ। यस उद्देश्यका लागि वार्ता, समन्वय तथा प्रतिवेदन तयारीको जिम्मेवारीसहित विशेष समितिहरू गठन गरिएको छ।

त्यसैगरी, संगठनको पुनर्गठन गर्दै प्रदेश, जिल्ला र स्थानीय तहसम्म संरचना विस्तार गर्ने, नियमित प्रशिक्षण तथा वैचारिक अभियान सञ्चालन गर्ने र संगठन व्यवस्थापनलाई आधुनिक तथा प्रभावकारी बनाउन डिजिटल प्रणालीको प्रयोग बढाउने निर्णय पनि बैठकले गरेको छ।

बैठकले शिक्षा क्षेत्र तथा आम नागरिकको जनजीविकासँग सम्बन्धित समसामयिक मुद्दाहरूमा सक्रिय र सशक्त भूमिका निर्वाह गर्ने रणनीति तय गरेको छ। नेतृत्व तहले पारित निर्णयहरूको प्रभावकारी कार्यान्वयनमार्फत संगठनलाई थप गतिशील, अनुशासित र जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

संगठनका उपमहासचिव तथा उपत्यका विशेष प्रदेश समिति इन्चार्ज निरोज श्रेष्ठले बैठकले संगठनको आगामी कार्यदिशा स्पष्ट गरेको बताए। उनले पार्टीभित्र रहेका विभिन्न विद्यार्थी संगठनबीचको एकता प्रक्रिया छिट्टै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्दै त्यसबाट समग्र विद्यार्थी आन्दोलनलाई नयाँ ऊर्जा र दिशा प्राप्त हुने उल्लेख गरे।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट