Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

सुस्तामा भारतीय एसएसबीको बढ्दो गतिविधिप्रति सांसद रेनुका काउचाको आपत्ति: ‘सरकारले संसद्लाई जवाफ दिनुपर्छ’


काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले पश्चिम नवलपरासीस्थित सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गतिविधि बढिरहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद काउचाले सीमावर्ती क्षेत्रका नेपाली नागरिकहरूले लामो समयदेखि राष्ट्रिय भूभागको संरक्षणमा भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनीहरूलाई राज्यको साथ र सुरक्षा अनुभूति गराउन आवश्यक रहेको बताइन्।

उनले सुस्ता क्षेत्रका स्थानीय बासिन्दाहरू कठिन परिस्थितिका बीच पनि आफ्नो भूमि र पहिचानको रक्षा गर्दै आएको उल्लेख गर्दै सीमा क्षेत्रमा सरकारको उपस्थिति थप प्रभावकारी हुनुपर्ने धारणा राखिन्।

सांसद काउचाले प्रधानमन्त्रीले केही समयअघि संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिपछि भारतीय एसएसबीका अधिकारीहरूको सुस्ता क्षेत्रमा आवागमन बढेको दाबी गरिन्। उनले उक्त विषयलाई जोड्दै सीमा क्षेत्रका गतिविधिबारे सरकार स्पष्ट हुनुपर्ने बताइन्।

“सीमामा बस्ने नेपाली नागरिकले राज्य आफ्नो साथमा छ भन्ने अनुभूति गर्न पाउनुपर्छ,” उनले संसद्मा भनिन्, “सुस्ता क्षेत्रमा पछिल्लो समय देखिएका गतिविधिले स्थानीय नागरिकमा चिन्ता बढाएको छ।”

उनका अनुसार जेठ १७ गतेपछि पुनः जेठ २९ गते पनि भारतीय एसएसबीका अधिकारीहरू सुस्ता क्षेत्रमा आएको जानकारी प्राप्त भएको छ। स्थानीय बासिन्दाहरूले आफ्नो पहलमा उनीहरूलाई फर्काएको दाबी गर्दै उनले सीमा सुरक्षाको जिम्मेवारी राज्यले प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताइन्।

सांसद काउचाले भारतीय सुरक्षाकर्मीहरू पुनः आउने चेतावनी दिएर फर्किएको उल्लेख गर्दै सीमा क्षेत्रमा उत्पन्न हुन सक्ने सम्भावित समस्याबारे सरकारको तयारी के छ भन्ने प्रश्न समेत उठाइन्।

उनले सुस्तालगायत संवेदनशील सीमा क्षेत्रमा नेपाली नागरिकको सुरक्षा, राष्ट्रिय हितको संरक्षण तथा सीमा व्यवस्थापनका विषयमा सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरिन्।

संसद्मा उठाइएको उक्त विषयप्रति सरकारको आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट