Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

सुशासन, प्रभावकारी सेवा र तीव्र विकास जनताको मुख्य अपेक्षा : राष्ट्रपति पौडेल


काठमाडौं । राष्ट्रपति पौडेल ले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, मुलुकको तीव्र विकास, शान्ति र समृद्धि नै नेपाली जनताको प्रमुख चाहना रहेको बताउनुभएको छ।

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि संघर्ष र बलिदान गरेका नेपाली जनताको अपेक्षा पूरा गर्न राज्य संयन्त्रलाई अझ जनमुखी, सेवामुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउन आवश्यक रहेको बताउनुभयो।

उहाँले जिम्मेवार, अनुशासित, नैतिकवान र सेवाप्रति समर्पित कर्मचारीतन्त्रले मात्रै सुशासनको लक्ष्य हासिल गर्न सक्ने उल्लेख गर्दै प्रविधि र स्मार्ट सेवा प्रवाहमार्फत नागरिकको विश्वास जित्नुपर्नेमा जोड दिनुभयो। लोकतन्त्रको सफलता जनताले प्राप्त गर्ने सेवा र अनुभूत हुने परिणाममा निर्भर रहने उहाँको भनाइ थियो।

राष्ट्रपति पौडेलले संविधानले अङ्गीकार गरेको समावेशी लोकतन्त्रको मर्मअनुसार योग्यता प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। लोकसेवा आयोगप्रतिको जनविश्वासका कारण मेहनती र योग्य युवाले राज्य सेवामा आफ्नो भविष्य सुरक्षित देख्न पाएको उल्लेख गर्दै उहाँले आयोगले विश्वव्यापी अभ्यास, अनुभव र आधुनिक व्यवस्थापनका सिद्धान्तलाई आत्मसात् गर्दै आफ्नो कार्यप्रणालीलाई अझ परिष्कृत बनाउनुपर्ने बताउनुभयो।

सरकारी सेवाका लागि योग्य कर्मचारी छनोट गर्ने संवैधानिक निकायका रूपमा लोकसेवा आयोगको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले कर्मचारी छनोट, बढुवा तथा परामर्शका क्षेत्रमा आयोगले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो। उहाँले समयसापेक्ष परीक्षण प्रणाली, आधुनिक प्रविधि र वैज्ञानिक मूल्याङ्कन प्रक्रियालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता पनि औँल्याउनुभयो।

लोकसेवा आयोगको कार्यक्षेत्र विस्तारसँगै यसको कार्यसम्पादनलाई प्रविधिमैत्री, व्यवस्थित र गुणस्तरीय बनाउने चुनौती थपिएको उल्लेख गर्दै उहाँले विगतका उपलब्धिको समीक्षा गर्दै भावी चुनौती सामना गर्न सक्षम योजनासहित अघि बढ्न सुझाव दिनुभयो।

राष्ट्रपति पौडेलले साढे सात दशकदेखि आयोगले “योग्यता, निष्पक्षता र स्वच्छता” का सिद्धान्तमा आधारित भएर कार्यसम्पादन गर्दै आएको उल्लेख गर्दै यही आधारले आयोगप्रतिको जनविश्वास कायम रहेको बताउनुभयो। आयोगको सबैभन्दा ठूलो सम्पत्ति नै जनविश्वास भएको उल्लेख गर्दै उहाँले उक्त विश्वासलाई अझ मजबुत बनाउन निरन्तर प्रयास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट