Techie IT
KTM Post
सोमबार, १ असार, २०८३

शिक्षा मन्त्री पोखरेल र स्विस राजदूतबीच भेट, प्राविधिक शिक्षा र सीप विकासमा सहकार्य विस्तारबारे छलफल


काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत ड्यानिएल मेउलीबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा शिक्षा क्षेत्रको विकास, प्राविधिक तथा व्यावसायिक शिक्षाको सुदृढीकरण र द्विपक्षीय सहकार्य विस्तारका विषयमा छलफल भएको हो।

भेटका क्रममा नेपाल र स्वीट्जरल्याण्डबीच शिक्षा क्षेत्रमा लामो समयदेखि रहँदै आएको विकास साझेदारी, प्राविधिक शिक्षाको गुणस्तर अभिवृद्धि तथा सीपमूलक शिक्षाको प्रवर्द्धनबारे विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ।

छलफलमा विशेषगरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) मार्फत सञ्चालन भइरहेका कार्यक्रमहरूको प्रभाव, उपलब्धि र आगामी सहकार्यका सम्भावनाबारे समीक्षा गरिएको थियो। दुवै पक्षले नेपालमा सीपयुक्त जनशक्ति उत्पादन र रोजगारीसँग जोडिएको शिक्षालाई थप प्रभावकारी बनाउने विषयमा जोड दिएका छन्।

स्विस सरकारको विकास सहयोग निकाय एसडीसी (Swiss Agency for Development and Cooperation) को सहयोगमा नेपालमा राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली, सीप विकास तथा रोजगारी प्रवर्द्धन, साथै प्राविधिक तथा व्यावसायिक शिक्षा सुधारसम्बन्धी विभिन्न परियोजनाहरू सञ्चालनमा रहेका छन्।मन्त्री पोखरेलले नेपालको शिक्षा प्रणालीलाई समयसापेक्ष, सीपमूलक र रोजगारमुखी बनाउन अन्तर्राष्ट्रिय साझेदारहरूको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै स्वीट्जरल्याण्डले पुर्‍याउँदै आएको योगदानप्रति आभार व्यक्त गरेका थिए।

राजदूत मेउलीले पनि नेपालको विकास प्राथमिकता अनुरूप शिक्षा तथा सीप विकासका क्षेत्रमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ।दुवै पक्षले आगामी दिनमा प्राविधिक शिक्षा, सीप विकास, रोजगार सिर्जना तथा मानव संसाधन क्षमताको अभिवृद्धिका क्षेत्रमा सहकार्यलाई थप विस्तार गर्ने विषयमा सकारात्मक छलफल गरेका छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट