Techie IT
KTM Post
सोमबार, १ असार, २०८३

पपुलिजम र अराजकतावादले समाजलाई यथास्थितिमै राख्छन् : शंकर पोखरेल


काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले नेपाली समाजमा पछिल्लो समय लोकप्रियतावाद (पपुलिजम) र अराजकतावाद (एनार्किजम) को प्रभाव बढ्दै गएको भन्दै यसले मुलुकको वैचारिक विकास र दीर्घकालीन राजनीतिक यात्रामा सकारात्मक योगदान नपुर्‍याउने बताएका छन्।

एमाले प्रचार तथा प्रकाशन विभागका नवनियुक्त प्रमुख निरज आचार्य को पद हस्तान्तरण कार्यक्रममा बोल्दै पोखरेलले समाजमा विचारभन्दा भावनात्मक र क्षणिक मुद्दाहरू हाबी हुने प्रवृत्ति बढेको टिप्पणी गरे।

उनले पपुलिजम र अराजकतावाद दुवै प्रवृत्तिले समाजलाई तत्कालका मुद्दा र असन्तुष्टिमा केन्द्रित गराएर दीर्घकालीन परिवर्तनको बहसबाट टाढा लैजाने दाबी गरे। यस्ता प्रवृत्तिहरूले विचारधाराको महत्व कमजोर बनाउँदै समाजलाई यथास्थितिमै राख्न मद्दत गर्ने उनको भनाइ थियो।

“लोकप्रियतावाद र अराजकतावाद सतहमा परिवर्तनको पक्षमा देखिए पनि अन्ततः यथास्थितिकै रक्षक बन्छन्,” पोखरेलले भने, “यी प्रवृत्तिले जनतामा सबै समस्याको समाधान आफूसँग मात्रै छ भन्ने भ्रम सिर्जना गर्छन्।”

उनले पछिल्लो समय ‘पुराना राजनीतिक दलहरूले केही गर्न सकेनन्, अब नयाँ शक्तिलाई अवसर दिनुपर्छ’ भन्ने भाष्य निर्माण गर्ने प्रयास भइरहेको उल्लेख गर्दै यस्तो राजनीतिक धाराको स्थायित्वबारे प्रश्न उठाए।

पोखरेलले वैकल्पिक राजनीतिक शक्तिहरूको उदयलाई संकेत गर्दै केवल प्रविधि, सामाजिक सञ्जाल वा जनभावनाको लहरका आधारमा निर्माण भएको राजनीति दीर्घकालीन रूपमा टिकाउ नहुने तर्क गरे। उनका अनुसार समाज परिवर्तनका लागि स्पष्ट वैचारिक आधार, नीति र दीर्घकालीन दृष्टिकोण आवश्यक हुन्छ।

उनले नेपाली समाज अन्ततः विचार, नीति र सिद्धान्तमा आधारित राजनीतिक अभ्यासतर्फ फर्किनुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि राजनीतिक दलहरू, कार्यकर्ता र बौद्धिक समुदायले भूमिका खेल्नुपर्ने बताए।

महासचिव पोखरेलले समाजलाई वैचारिक मार्गमा पुनः उन्मुख गराउन समय लाग्न सक्ने भए पनि देशको समग्र विकास, स्थायित्व र समृद्धिका लागि त्यही मार्ग उपयुक्त हुने धारणा व्यक्त गरे।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट