अनुसन्धानमा सहयोग गर्ने देउवा दम्पतीको प्रतिबद्धता, साउनभित्र नेपाल फर्किने जानकारी
काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई आफूहरू आगामी साउन २८ गतेभित्र नेपाल फर्किने र अनुसन्धान प्रक्रियामा पूर्ण रूपमा सहयोग गर्ने जानकारी दिएका छन्।
जेठ २८ गते विभागलाई पठाइएको इमेलमार्फत देउवा दम्पतीले हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेको उल्लेख गर्दै आफूहरू अनुसन्धानबाट भाग्न खोजेको वा कानुनी प्रक्रियाबाट बच्न विदेश बसेको भन्ने भ्रम फैलाइएको बताएका छन्।
चार पृष्ठ लामो पत्रमा उनीहरूले सार्वजनिक जीवनमा लामो समय बिताएका राजनीतिक व्यक्तित्व भएकाले अनुसन्धानमा अवरोध पुर्याउने कुनै उद्देश्य नरहेको उल्लेख गरेका छन्। बरु, कानुन र प्रमाणका आधारमा हुने निष्पक्ष अनुसन्धानमार्फत सत्य स्थापित हुने विश्वास व्यक्त गरेका छन्।
पत्रमा उनीहरूले विभागलाई आफूहरूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने वा नेपाल फर्कन असहज हुने अवस्था सिर्जना नगर्न आग्रह गरेका छन्। सर्वोच्च अदालतबाट जेठ ११ गते नै धरपकड नगर्न अन्तरिम आदेश जारी भइसकेको विषय पनि पत्रमा स्मरण गराइएको छ।
देउवा दम्पतीले आफूहरू कुन देशमा रहेको भन्ने खुलाएका छैनन्। उनीहरू गत फागुन १३ गते सिंगापुर गएका थिए भने त्यसपछि हङकङमा समेत देखिएका थिए। त्यसयता उनीहरूको बसाइबारे आधिकारिक जानकारी सार्वजनिक भएको छैन।
पत्रमा विभागले गठन गरेको अनुसन्धान टोलीले आफ्नो आगलागीबाट क्षतिग्रस्त घरमा खानतलासी गर्दा कुनै नगद वा बहुमूल्य सामग्री फेला नपरेको दाबी पनि गरिएको छ। साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत अन्य संवैधानिक निकायबाट समेत आफूहरूमाथि कुनै छानबिन नभएको उल्लेख गर्दै विभागको अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी उजुरीको अनुसन्धान जारी रहेका बेला देउवा दम्पतीले पहिलोपटक औपचारिक रूपमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया