प्रतिनिधिका अन्तिम नामावली तयारी हुँदै
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम नामावली तयार गर्ने काम सुरु भएको छ। असार ७ देखि ९ गतेसम्म भरतपुरमा हुने महाधिवेशनका लागि मतदान गर्ने प्रतिनिधिहरूको सूची अन्तिम रूप दिन थालिएको पार्टीले जनाएको छ।
केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठका अनुसार मधेश प्रदेश तथा विभिन्न १३ जिल्लामा अधिवेशन सम्पन्न हुन नसकेका स्थानबाट जिल्ला तदर्थ समितिमार्फत प्रतिनिधि चयन गरिनेछ।
त्यस्तै, २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका तर निर्वाचित हुन नसकेका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूलाई पनि महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी गराइने भएको छ।
पार्टीका पालिका सभापति, पालिका अधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधि, केन्द्रीय समिति तथा केन्द्रीय संरचनाका सदस्यहरू पनि प्रतिनिधिको रूपमा सहभागी हुनेछन्। केन्द्रका ३८ विभागका सदस्य, तीनवटा आयोगका पदाधिकारी, सल्लाहकार तथा संघीय नेतृत्व मञ्चका सदस्यहरू समेत महाधिवेशन प्रतिनिधिमा रहने व्यवस्था गरिएको छ।
सातै प्रदेशका प्रदेश समिति, प्रदेश विभागका प्रमुख, उपप्रमुख र सचिवहरूका साथै जिल्ला समितिका सभापतिसहित पाँच जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्। निर्वाचन क्षेत्र संयोजक, उपसंयोजक तथा विभिन्न देशमा रहेका सम्पर्क संरचनाका प्रतिनिधिहरूलाई पनि महाधिवेशनमा समेटिने जनाइएको छ।
पार्टीका अनुसार २५ देशबाट प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुनेछन्। प्रतिनिधिको संख्या सम्बन्धित देशको संगठनात्मक अवस्थाअनुसार तीनदेखि ११ जनासम्म रहनेछ।
यसका अतिरिक्त पार्टी विधानअनुसार केन्द्रीय सभापतिले विशेष निर्णयमार्फत २०० जना महाधिवेशन प्रतिनिधि मनोनयन गर्न सक्ने व्यवस्था रहेको छ।
महाधिवेशनको उद्घाटन सत्र असार ७ गते भरतपुरस्थित गेष्टहाउस मैदानमा हुनेछ भने बन्दसत्र असार ८ र ९ गते उद्योग संघ चितवनको प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ।
महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। प्रारम्भिक चरणमा एक जना सभापति र ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिनेछ। त्यसपछि निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट तीन उपसभापति, दुई महामन्त्री र चार सहमहामन्त्री चयन गर्ने प्रक्रिया अघि बढाइने पार्टीले जनाएको छ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया