Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने


काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले आफैं डाउनलोड गर्न सक्ने नयाँ सेवा सुरु गरेको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बिहीबारदेखि परीक्षणका रूपमा उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

विभागका अनुसार अब नागरिकहरूले विभागको नागरिक पोर्टलमार्फत आफ्नो फोटो तथा क्युआर कोडसहितको राष्ट्रिय परिचयपत्र कार्ड डाउनलोड गर्न सक्नेछन्। यसका लागि राष्ट्रिय परिचयपत्रसम्बन्धी वेभसाइटमा प्रवेश गरी आवश्यक विवरण प्रमाणीकरण गर्नुपर्नेछ।

सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत नागरिकलाई सहज रूपमा राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने उद्देश्यले यो प्रणाली विकास गरिएको हो।

विभागका अनुसार राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरिसकेका नागरिकले आफ्नो नाम, जन्ममिति तथा नागरिकता जारी मितिको विवरण प्रविष्ट गरी परिचयपत्र डाउनलोड गर्न सक्नेछन्।

यसअघि विभिन्न सरकारी तथा सार्वजनिक निकायहरूले विभागबाट छापिएको राष्ट्रिय परिचय नम्बरको निस्साका आधारमा सेवा प्रदान गर्दै आएका थिए। अब भने डाउनलोड गरिएको कार्डमा रहेको क्युआर कोड स्क्यान गरी विवरण प्रमाणीकरण गरेर सेवा प्रवाह गर्न विभागले सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ।

विभागले नयाँ प्रणालीले नागरिकलाई राष्ट्रिय परिचयपत्र प्राप्त गर्न थप सहजता प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट