Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले पाएनन् राहत


काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटिसक्दा पनि नेपाली उपभोक्ताले अझै महँगो दरमै इन्धन खरिद गर्नुपरेको भन्दै जनस्तरबाट असन्तुष्टि बढ्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारेल ११७.६३ अमेरिकी डलरको उच्च बिन्दुबाट घटेर ६९.२१ डलरमा झरेको छ ।

यसले विश्व बजारमा तेलको मूल्यमा करिब ३० प्रतिशतभन्दा बढी गिरावट आएको देखाउँछ । तर सो अनुपातमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन नभएको भन्दै उपभोक्ताले प्रश्न उठाएका छन् । सर्वसाधारणले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ नेपाली उपभोक्ताले पनि पाउनुपर्ने धारणा राखेका छन् ।

मूल्य घट्न नसक्नुको कारणबारे नेपाल आयल निगमले आफूले कच्चा तेल नभई प्रशोधित तेल खरिद गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारको प्रभाव तत्काल नपर्ने बताउँदै आएको छ । यद्यपि, विज्ञ तथा उपभोक्ता पक्षले कच्चा र प्रशोधित तेलको मूल्यबीच केही समयको अन्तर र प्रशोधन खर्चको प्रभाव रहने भए पनि कच्चा तेलको मूल्यमा आएको ठूलो गिरावटले अन्ततः प्रशोधित तेलको लागतमा समेत कमी ल्याउने तर्क गरेका छन् ।

लामो समयसम्म मूल्य घट्दाको प्रभाव नदेखिनु र त्यसबारे स्पष्ट जानकारी नदिनुले निगमको मूल्य निर्धारण प्रक्रियामाथि प्रश्न उठेको उनीहरूको भनाइ छ । उपभोक्ताहरूले मूल्य समायोजन सम्बन्धी वास्तविक अवस्था सार्वजनिक नगरी प्राविधिक कारण देखाएर पुरानै दर कायम राख्दा आफूहरू थप आर्थिक भार वहन गर्न बाध्य भएको गुनासो गरेका छन् ।

यसले नेपाल आयल निगम र सम्बन्धित निकायको पारदर्शिता, जवाफदेहिता तथा सुशासनमाथि समेत प्रश्न खडा गरेको उनीहरूको आरोप छ । नेपालमा पेट्रोलियम पदार्थको मूल्य प्रत्येक १५ दिनमा प्राप्त हुने नयाँ मूल्यसूचीका आधारमा समायोजन गर्ने व्यवस्था रहेको छ ।

उपभोक्ता पक्षले मूल्य बढ्दा तत्काल लागू हुने प्रणाली मूल्य घट्दा पनि समान रूपमा लागू हुनुपर्ने माग गरेका छन् । उनीहरूको भनाइमा घाटाको समयमा उपभोक्ताले महँगो मूल्य तिरेर भार वहन गर्ने तर अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा राहत नपाउने अवस्था न्यायोचित हुन सक्दैन ।

यस विषयमा नेपाल आयल निगमले मूल्य समायोजनको आधार, लागत संरचना र अन्तर्राष्ट्रिय बजारको प्रभावबारे स्पष्ट जानकारी सार्वजनिक गर्नुपर्ने माग समेत उठ्न थालेको छ । निगमका प्रबक्ता मनोज ठाकुर नेपालले भारतबाट पेट्रोलियम पदार्थ खरिद गर्ने र त्यसको मूल्य १५.१५ दिनमा प्राप्त गर्ने भएकाले अन्तर्राष्ट्रिय वजारमा घटेको मूल्य नेपालमा समायोजन हुन नसकेको बताउँछन् ।

भारतबाट अघिल्लो पटक प्राप्त मूल्य अनुसार एक सिलिन्डर ग्यासमा करिव एक हजार एकसय नोक्सन रहेकाले पनि निगमले थप घाटा व्यहोर्नुपरेको ठाकुरको भनाई छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट