जुनमा नेपाल भित्रिए ९१ हजारभन्दा बढी विदेशी पर्यटक, आगमन १९.५ प्रतिशत बढ्यो
काठमाडौं। सन् २०२६ को जुन महिनामा नेपालमा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्ड (एनटीबी) ले अध्यागमन विभागको तथ्यांकका आधारमा सार्वजनिक गरेको विवरणअनुसार हवाईमार्गबाट आउने विदेशी पर्यटकको संख्या गत वर्षको सोही अवधिको तुलनामा १९.५ प्रतिशतले बढेको हो।
गत वर्षको जुन महिनामा ७६ हजार ४२५ विदेशी पर्यटक नेपाल आएका थिए। त्यस्तै, कोभिड–१९ महामारीअघि पर्यटन गतिविधि उच्च रहेको सन् २०१९ को जुन महिनामा ७४ हजार ८८३ पर्यटक आगमन भएको थियो। यस वर्षको जुनको आगमन सन् २०१९ को तुलनामा पनि २२.०१ प्रतिशतले बढी रहेको बोर्डले जनाएको छ।
जुन महिनामा नेपाल आएका कुल पर्यटकमध्ये सबैभन्दा ठूलो हिस्सा दक्षिण एसियाली (सार्क) मुलुकको रहेको छ। यस अवधिमा सार्क राष्ट्रबाट ४८ हजार २५४ पर्यटक आएका छन्, जुन कुल आगमनको ५२.८ प्रतिशत हो। भारतबाट मात्रै ४१ हजार ८०९ पर्यटक नेपाल भ्रमणमा आएका छन्।
अन्य एसियाली मुलुकबाट १६ हजार १५२ पर्यटक नेपाल आएका छन्। तीमध्ये चीनबाट ८ हजार ८७५, जापानबाट २ हजार ४९७, दक्षिण कोरियाबाट १ हजार ७६५ र थाइल्यान्डबाट ९८४ पर्यटकले नेपाल भ्रमण गरेका छन्।
युरोपबाट १३ हजार ११९ पर्यटक नेपाल आएका छन्। युरोपेली मुलुकमध्ये बेलायतबाट ३ हजार २६६, जर्मनीबाट १ हजार ८९२ र फ्रान्सबाट १ हजार २६७ पर्यटक नेपाल आएका छन्।
अमेरिका महादेशबाट ६ हजार ९५४ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ७.६१ प्रतिशत हो। यसमध्ये संयुक्त राज्य अमेरिकाबाट ५ हजार २३७, क्यानडाबाट १ हजार २९८ र ब्राजिलबाट २१९ पर्यटक नेपाल आएका छन्।
ओसियानिया क्षेत्रबाट ३ हजार ९० पर्यटक नेपाल आएका छन्। यो संख्या गत वर्षको तुलनामा ५६.३५ प्रतिशत र सन् २०१९ को तुलनामा ५७.१७ प्रतिशतले बढी हो। यस क्षेत्रमा अष्ट्रेलियाबाट २ हजार ६९४ र न्यूजिल्यान्डबाट ३९० पर्यटक आएका छन्। यसैगरी अफ्रिकाबाट ६७४ तथा मध्यपूर्वबाट २९२ पर्यटक नेपाल भ्रमणमा आएका छन्।
बोर्डले आगामी पर्यटन सिजनलाई लक्षित गर्दै भारत, चीन, अमेरिका, युरोप तथा अन्य प्रमुख स्रोत बजारमा थप प्रवर्द्धनात्मक गतिविधि सञ्चालन गर्ने तयारीसमेत गरेको जनाएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया