स्वीडेनमा १६औँ शताब्दीको दुर्लभ जहाजको अवशेष फेला
काठमाडौं । स्वीडेनको दक्षिणपूर्वी तटमा १६औँ शताब्दीको दुर्लभ जहाजको भग्नावशेष फेला परेपछि इतिहास र पुरातत्त्व क्षेत्रका लागि नयाँ ढोका खुलेको छ । अधिकारीहरूले यस खोजले ‘अद्वितीय ऐतिहासिक र पुरातात्त्विक जानकारी’ प्रदान गर्ने बताएका छन् । यसले युरोपको समुद्री इतिहासबारे थप अध्ययनकोसम्भावना बढाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
अहिलेसम्म पहिचान नभएको यो जहाज सन् १५०० को दशकको उत्तरार्धमा निर्माण गरिएको अनुमान छ । यसले स्वीडेनको प्रसिद्ध १७औँ शताब्दीको युद्धपोत ‘भासा’ भन्दा पनि पुरानो भएको सङ्केत गर्छ । ‘भासा’ लाई सन् १९६० को दशकमा उद्धार गरी अहिले स्टकहोममा प्रदर्शनमा राखिएको छ ।
यो भग्नावशेष सन् २०२५ को अन्त्यतिर स्वीडेनको मुख्य भूमि र बाल्टिक सागरमा रहेको ओल्यान्ड टापुको बीचमा पर्ने कालमार स्ट्रेट क्षेत्रमा फेला परेको हो । सैन्य अभ्यासका क्रममा नौसेनाको जहाजले यसलाई पहिचान गरेको थियो । काठका नमूनाहरूको ‘डेन्ड्रोक्रोनोलोजिकल’ विश्लेषण अर्थात् रुखको उमेर र वृद्धि अध्ययन गर्ने वैज्ञानिक विधिबाट गरिएको परीक्षणले जहाज १६औँ शताब्दीको अन्त्यतिर निर्माण गरिएको पुष्टि गरेको कलमार काउन्टी प्रशासनिक बोर्डले जनाएको छ ।
पुरातत्त्वविद् डेनियल टेडेनलिन्डका अनुसार यो भग्नावशेष महत्त्वपूर्ण सांस्कृतिक र ऐतिहासिक सम्पदा हो जसले त्यस समयको जहाज निर्माण प्रविधि, व्यापारिक गतिविधि र समुद्री मार्गबारे मूल्यवान् जानकारी दिन सक्छ ।
विशेषज्ञहरूका अनुसार बाल्टिक सागरको नुनिलो पानी, चिसो तापक्रम, अँध्यारो वातावरण र कम अक्सिजनको संयोजनले काठका जहाजहरूलाई असाधारण रूपमा सुरक्षित राख्ने गर्दछ । यही कारणले यस क्षेत्रमा यस्ता ऐतिहासिक भग्नावशेषहरू राम्रो अवस्थामा फेला पर्ने सम्भावना उच्च रहने गरेको छ । यस खोजले केवल एक जहाजको कथा मात्र नभई स्वीडेन र समग्र उत्तरी युरोपको समुद्री इतिहासको एउटा हराएको अध्याय पुनः उजागर गर्ने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : अन्तराष्ट्रिय, समाचार










प्रतिक्रिया