Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

इरानसँगको वार्ता सकारात्मक, राम्रो नतिजा निस्कन सक्छ : ट्रम्प


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिनिधिले इरानसँग सकारात्मक कुराकानी गरिरहेको बताएका छन् । आइतबार उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा छलफल सक्रिय रूपमा जारी रहेको र यसबाट सबैका निम्ति धेरै राम्रो नतिजा निस्कन सक्ने उल्लेख गरेका छन् । ट्रम्पको यो भनाइले दुई देशबीच कूटनीतिक संवाद कायम रहेको संकेत गरेको छ ।

अमेरिकी विशेष दूत स्टिभ विटकफले पनि यसको पुष्टि गरेका छन् । वासिङटन र तेहरानबीच वार्ता भइरहेको उनले बताएका छन् । विटकफले ट्रम्पको गल्फ क्लबमा आयोजित एक कार्यक्रममा यसको उद्देश्य उक्त क्षेत्रमा जारी संघर्ष अन्त्यका निम्ति सम्भावित उपाय खोज्नु रहेको जानकारी दिए ।

ट्रम्पको पछिल्लो भनाइ अघिल्लो अभिव्यक्तिभन्दा केही फरक देखिएको छ । एक दिनअघि मात्र उनले इरानको प्रस्तावको कडा आलोचना गर्दै त्यो स्वीकार गर्न नसकिने बताएका थिए । इरानले मानवताविरुद्ध गरेका कार्यको अझै पर्याप्त मूल्य नचुकाएको उनको भनाइ थियो । एक फोन संवादका क्रममा पनि ट्रम्पले इरानका सर्त स्वीकार गर्न नसकिने र आफ्नो सैन्य अभियान निकै सफलतापूर्वक अघि बढिरहेको दोहोर्‍याएका थिए ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले पाकिस्तानमार्फत अमेरिकाको जवाफ प्राप्त भएको जानकारी दिएका छन् । इरानले हाल अमेरिकाको दृष्टिकोणको समीक्षा गरिरहेको र अन्तिम निर्णय भएपछि मात्र आफ्नो प्रतिक्रिया दिने जनाएको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट