Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

इबोला नियन्त्रणमा यात्रा प्रतिबन्ध बाधक बन्ने डब्लुएचओ प्रमुखको चेतावनी


बुनिया । विश्व स्वास्थ्य संगठन डब्लुएचओ का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले डेमोक्रेटिक रिपब्लिक अफ कंगो र युगान्डामा फैलिएको इबोला प्रकोपका कारण विभिन्न देशहरूले लागू गरेका यात्रा प्रतिबन्ध तथा सीमा बन्दीका उपायहरू पुनर्विचार गर्न आग्रह गरेका छन्।
कंगोको इटुरी प्रान्तको राजधानी बुनियामा आयोजित पत्रकार सम्मेलनमा उनले रोग नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्य, पारदर्शिता र विश्वास अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै अत्यधिक प्रतिबन्धहरूले संक्रमण नियन्त्रण प्रयासलाई नै कमजोर बनाउन सक्ने बताए।

महानिर्देशक टेड्रोसले इबोलाविरुद्ध प्रभावकारी उपचार र खोपको पहुँच विस्तार भइरहेकाले समयमै स्वास्थ्य सेवा प्राप्त गर्न सके संक्रमितहरू निको हुने सम्भावना उच्च रहेको बताए। उनले प्रभावित समुदायसँग प्रत्यक्ष संवाद र जनचेतना अभिवृद्धिलाई पनि नियन्त्रण रणनीतिको महत्वपूर्ण पक्षका रूपमा व्याख्या गरे।

यसैबीच छिमेकी युगान्डामा पनि इबोलाका नयाँ संक्रमित फेला परेका छन्। युगान्डाको स्वास्थ्य मन्त्रालयका अनुसार राजधानी कम्पालामा थप दुई संक्रमित पुष्टि भएसँगै कुल संक्रमितको संख्या नौ पुगेको छ।

कंगोका स्वास्थ्यमन्त्री रोजर काम्बाले आगामी चारदेखि छ महिनाभित्र इबोला प्रकोपलाई नियन्त्रणमा ल्याउने लक्ष्य लिइएको बताएका छन्। उनका अनुसार इटुरी, उत्तर किभु र दक्षिण किभु प्रान्तलाई प्राथमिकतामा राखेर संक्रमण फैलिन नदिने रणनीति अपनाइएको छ।

कंगो सरकारले परीक्षण क्षमतामा उल्लेख्य विस्तार गरेको जनाउँदै स्वास्थ्यमन्त्री काम्बाले हालसम्म करिब ९०० नमुना परीक्षण गरिएकामध्ये २६० वटामा संक्रमण पुष्टि भएको जानकारी दिए। उनले देशका प्रयोगशालाहरूमा दैनिक २०० देखि ३०० नमुनासम्म परीक्षण गर्न सक्ने क्षमता विकास भइसकेको पनि बताए।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट